
पहिलो पटक विदेशमा आयोजना भएको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ भव्य रुपमा सम्पन्न भएको छ । सोही समारोहमा निर्देशक सुदर्शन थापाले आफ्नो नयााँ चलचित्र ‘म यस्तो गीत गाउँछु’को पनि घोषणा गरेका छन् ।
सुदर्शन थापालाई ‘पपुलर रोमान्टिक निर्देशक’को अवार्ड प्रदान गरिएको थियो । सोही समारोहमा उनले आफ्नो लभ स्टोरी चलचित्रको घोषणा गरेका हुन् ।
चलचित्रमा नायिका पूजा शर्माको साथमा नायक तथा मोडल पल शाहले रोमान्स गर्नेछन् ।
सुदर्शनले दर्शकको चाहना अनुसार एउटा उत्कृष्ट रोमान्टिक चलचित्र बनाउने बताए । नायिका पूजा शर्माले आफूलाई यो चलचित्र नै आफ्नो पहिलो चलचित्र जस्तो लागेको बताइन् । चलचित्र ‘प्रेमगीत’का सर्वाधिक चर्चित गीत ‘म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस्’बाट चलचित्रको शिर्षक लिइएको छ ।
कात्तिकबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । लभ स्टोरी चलचित्र बनाउन सिपालु मानिएका सुदर्शनले पल र पूजाको जोडी नेपाली चलचित्रमा फेरि सफल जोडीको रुपमा चिनिने विश्वास व्यक्त गरेका छन् । पलले चलचित्र ‘जोनी जेन्टलम्यान’पछि यो चलचित्रको छायांकन सुरु गर्नेछन् ।
२०७३ असोज १ गते प्रकाशित