पर्वत,९ भदौ
बाँदरले आफ्नो घर पनि बनाँदैन अर्काको पनि बन्न दिँदैन भन्ने उखान पर्वत अधिकांश गाविसका कृषकले भोग्नुपरेको छ । वन बढेसँगै बाँदरले खेतीबारी सत्यानास बनाएपछि पर्वतका कृषक जग्गा बाँझो बनाएर बस्नुपर्ने बाध्यतामो छन् ।
‘बाँदरका कारण गाउँनै छाडनुपर्ने अवस्था आयो’ ठूलीपोखरी–४ का गंगाप्रसाद शर्माले भन्नुभयो–‘नियन्त्रण नगर्ने हो भने खेतीबाली नगरि बसे हुन्छ ।’ उहाँले वर्षभरि दुःख गरेर लगाएको खेती एकैछिनमा आएर स्वाहा गराईदिने गरेको बताउनुभयो । विशेषगरि अन्नबाली लगाएपछि बाँदर आउने र हिनामिना गरिदिने गरेपछि आफ्नो पहुँच नपुग्ने ठाउँमा भने बाँझै छाड्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
पहिला पहिला बाँदर नै नदेखिने ठाउँमा अहिले हुलका हुल बाँदर आएर एकै छिनमा खेतीपाती सखाप गरिदिन्छ शर्माले भन्नुभयो दिनभरि कुरेर बस्दा पनि आँखा छलेर एकैछिन खेतमा पस्योभने सबै स्वाहा बनाउँछ । अहिले पर्वत जिल्लाका सबै गाविसमा बाँदको आतंक नै बढेर गएको भएपनि बाँदर नियन्त्रण गर्न सकिएको छैन । बाँदरको आतङ्कबाट बाली जोगाउन कृषकबारीमै कुरेर बस्नुपर्ने बाध्यता छ भने केही गाविसका उब्जाउ भूमि पनि बाँदरका कारण बाँझै छाड्नुपरेको कृषकहरुको भनाई छ ।
जिल्लाको उत्तरी क्षेत्रका भुकताङ्ले, तिलाहार, राम्जा, आर्थर, चित्रे, ठूलीपोखरी, खौला तथा दक्षिणी टकलाक, उराम, वाहकी, त्रिबेणी, सरौंखोला भोर्ले लगायतका गाविसमा बाँदरले अति नै दुःख दिएको स्थानीयको भनाई छ । बाँदरले हैरान बनाएपछि प्रहरीलाई समेत खबर गरेको र प्रहरीले पनि केही गर्न नसकेपछि हेरेरै बस्नुपरेको उनीहरु बताउँछन् ।
कालीगण्डकी लोकमार्ग निर्माणको क्रममा गुल्मीका बिभिन्न क्षेत्रहरुमा बम पड्काउँदा बाँदरहरु पर्वत क्षेत्रमा पसेको गाउँलेहरुको अनुमान छ । २,४ वर्ष पहिलासम्म कहिल्यैपनि बाँदर नदेख्ने गाउँलेहरू अहिले बाँदरले सत्यानाश गर्दा हेरेरै बस्न बाध्यभएको गुनासो छ । आँखा छलेर खेतीमा पसिहाल्छ सेतीवेणी गाविसका श्यामलाल बस्यालले भन्नुभयो एकै छिनमा सबै सखाप बनएर भाग्छ । बाँदर नियन्त्रण गर्नका लागि पहल गरिदिन स्थानीयवासीहरुले पर्वतका प्रमुख जिल्ला अधिकारीलाई समेत आग्रह गरेका छन् । बाँदर बन्यजन्तु भएकाले मार्न नमिल्ने तर तर्साउनका लागि केही उपाय गर्न सरोकारवालाहरुसँग सल्लाह गर्ने प्रजिअ कृष्ण प्रसाद ज्ञवालीले बताउनुभयो ।
उता जिल्ला वन कार्यालय पर्वतले भने बाँदरलाई मार्न नमिल्ने तर नियन्त्रण गर्नका लागि तर्साउने काम गर्न सकिने भएपनि आँफुहरुसँग त्यस्तो गुनासो नआएको जिल्ला वन अधिकृत शान्तमाया श्रेष्ठले बताउनुभयो ।