जिल्लाका अधिकांश ग्रामिण सडक अवरुद्ध

फाईल फोटो

रामबहादुर थापा
बागलुङ, २६ साउन
जिल्लाका अधिकांश ग्रामिण सडक पहिरोले अवरुद्ध बनेका छन् । गाविसहरुलाई सडक सञ्जालसँग जोड्ने मुख्य दुई सडक पनि पुरै सञ्चालनमा छैनन् । ठूलो वर्षा हुनासाथ जिल्लाभरको यातायात सेवा प्रभावित हुने अवस्था छ । मध्यपहाडी लोकमार्गको सदरमुकामदेखि बुर्तिवाङसम्म यातायात सुचारु रहेपनि त्यहाँबाट छिमेकी गाविसमा पुग्ने सडक अवरुद्ध छन् ।
धवलागिरी अञ्चल जीप व्यवसायी समितिका अनुसार उक्त सडक पनि वर्षा हुनासाथ खोला बढेर अवरुद्ध हुने गरेको छ । ग्वालीचौरको न्वारा खोला घटेको बेला मात्र सवारी आवातजावत हुने गरेको समितिका अध्यक्ष शशीकपुर श्रेष्ठले बताउनुभयो । बल्लतल्ल बुर्तिवाङसम्म सवारी साधन पुगेपनि अघिका गाविसमा यातायात सेवा रोकिएको छ । ढोरपाटन सिकार आरक्ष जाने सडक पनि असार सुरुदेखिनै अवरुद्ध बनेको छ ।
बोवाङ, निशी, अधिकारीचौर, बोहरागाउँ, बुङ्गादोभान, खुङ्गा, तमान लगाएतका गाविसमा पुग्ने सडक अवरुद्ध रहेको बुर्तिवाङका ऋतुवर्ण पौडेलले जानकारी दिनुभयो । जिल्लाको दक्षिण भेग जोड्ने मुख्य सडक कुश्मीसेरासम्म मात्र सञ्चालनमा छ । कश्मिसेरा अघिका दर्जनजति गाविस यातायात सेवाबाट वञ्चित छन् । कुश्मीसेराका व्यवसायी चिन्तामणी सापकोटाले ठाउँ–ठाउँका गएको पहिरो र बाढीका कारण सडक अवरुद्ध बनेको बताउनुभयो ।
अर्जेवा, सर्कुवा, राङखानी, पैंयूथन्थाप लगाएतका गाविस पुग्ने सडक वर्षायाम लागेसँगै बन्द अवस्थामा छन् । यसअघि सदरमुकामदेखि कुश्मीसेरा जोड्ने मुख्य सडकनै लामो समय अवरुद्ध बनेपछि स्थानीयबासिन्दाले मर्मत, सुधारको लागि जिल्ला विकास समितिमा दवाव दिएका थिए । सडक नियमित सञ्चालन नहुँदा वर्षायाममा ग्रामिण भेगका बासिन्दाले वर्षेनी सास्ती खेप्नुपर्ने बाध्यता छ ।
यातायात नचलेपछि आकस्मिक उपचार, सरकारी कामकाज, सामान ढुवानी जस्ता अत्यावश्यक काम समेत प्रभावित हुने गरेका छन् । बिग्रेका सडक सयममै मर्मत नगर्ने प्रवृत्ति सरोकार भएका पक्षहरुमा हावी छ । जिल्ला विकास समिति र स्थानीय उपभोक्ताको लगानीमा खोलिएका सडक वर्षायाममा सँधै बिग्रने गरेका छन् । सहज रुपमा यातायात सुचारु हुन असोजसम्म कुनुपर्ने समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
‘अब असोज लाग्दासम्मै ग्रामिण सडकको अवस्था यस्तै हो, वर्षायाममा यस्तो सास्ती खेप्न थालेको वर्षौं भइसक्यो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘खोलामा सयममै पुल नबन्दा र सडक स्तरीय नभएसम्म समस्याको समाधान हुन्न ।’ जिल्लाभर जम्मा २५ किमि सडक कालोपत्रे छ भने बाँकी सबै कच्ची छ ।