लक्ष्मण सापकोटा
पर्वत २१ पर्वत
पर्वत जिल्ला अस्पतालमा पहिलोपटक शल्यक्रिया सेवा सुरु भएको छ । बुधबार साँझ एक गर्भवती महिलाको शल्यक्रियामार्फत बच्चा जन्माएर सेवा सुरु गरिएको हो ।
सुत्केरी व्यथा लागेर अस्पताल आइपुगेकी कुश्मा नगरपालिका–७ दुर्लुङ्गकी १९ वर्षीया स्मृति गुरुङको शल्यक्रियामार्फत बच्चा निकालेर सेवा सुरु गरिएको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर फणिन्द्र बरालले बिहिवार एक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको छ । प्रमुख डाक्टर बराललगायत अन्य चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा शल्यक्रिया सफल भएको हो । करिब साढे दुई महिना पहिले जिल्लामा सरुवा भएर आएका प्रमुख डाक्टर बरालको पहलमा शल्यक्रिया सेवा सञ्चालन गरिएको छ ।
आफू जिल्लामा सरुवा भएर आएपछि दुई महिनामै शल्यक्रिया सेवाका लागि पूर्वाधार तयार गरेर बुधबारदेखि सेवा सञ्चालन गरिएको उहाँले बताउनुभएको छ । डाक्टर बरालका अनुसार अब गर्भवती महिला बच्चा जन्माउन नसकेमा पोखरा, काठमाडाँै लगायतका अस्पतालमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।
पहिलोपटक सेवा सञ्चालन गर्दा अस्पतालका अन्य चिकित्सक र बिरामीमा आशङ्का पैदा भए पनि शल्यक्रिया सफल भई आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य भएपछि हर्षित बनेका थिए ।
शल्यक्रिया सेवा सुरु भएपनि अझै केही व्यवस्थापन आवश्यक रहेको छ । तत्काल अस्पतालमै रहेका नर्सलाई तालिम लिनका लागि पठाउने र शल्यचिकित्सक थप गर्ने लगायतका तयारी पनि भइरहेका छन् । शल्यक्रियाका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ, डाक्टर बरालले भन्नुभयो, “अब केही जनशक्ति थप गरेर नियमित सेवा सञ्चालन गर्ने भएका छौँ ।”
उहाँका अनुसार अहिले मासिकरुपमा ३० देखि ४० जना अस्पतालमा सुत्केरी हुन आउने गरेकामा शल्यक्रिया सेवा सुरु भएपछि दोब्बर वृद्धि हुने भएको छ । गर्भवती महिलालाई यो सुविधा नहुँदा पोखरा नै जाने गरेका थिए अब सामान्य हिसाबले गर्भवती हुन नसक्नेलाई शल्यक्रियाको पनि सुविधा भएपछि पोखरा जानेहरु पनि पर्वत जिल्ला अस्पतालमै आउने भएका छन् ।
अस्पतालमा गर्भवती महिलाका साथै एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, एैँजेरु लगायतका बिरामीको पनि शल्यक्रिया गर्न थालिएको बताइएको छ । सामान्य प्रकृतिका शल्यक्रिया गर्नु परे पनि छिमेकी जिल्लाको पोखरा तथा काठमाडौँ जानुपर्ने पर्वतवासीको अवस्थालाई मध्यनजर गर्दै जिल्ला अस्पतालमै शल्यक्रिया सेवा सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पौडेलले बताउनुभयो ।
सामान्य शल्यक्रिया बाहेकका जटिल परिस्थितिका बिरामीलाई पोखरा, काठमाडाँै रिफर गर्ने गरिएकोमा १५ शय्याको उक्त अस्पताललाई शल्यक्रिया सेवा सुरु भएपछि क्षमता पनि विस्तार गरिएको छ । अहिले ३५ जनासम्मलाई भर्ना गरेर उपचार गर्न सकिने पनि अध्यक्ष पौडेलले जानकारी दिनुभयो । गम्भीर प्रकृतिका बिरामीबाहेक अन्यको शल्यक्रिया अब अस्पतालमै गर्न सकिने भए पछि पर्वतलगायत बागलुङ र म्याग्दी जिल्लावासी पनि लाभान्वित हुने भएका छन् ।
शल्यक्रिया गर्दा केही बिरामीलाई रगतको पनि आवश्यकता पर्ने भएकाले जिल्लामै ब्लड बैंक स्थापनाको तयारी पनि गरिएको छ । अहिले मोबाइल ब्लड बैंकमार्फत रक्तदान गरेर प्रयोग गरिएको भएपनि निकट भविष्यमै ब्लड बैंक स्थापनाका लागि पहल भइरहेको र जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीलगायत अन्य सामाजिक सङ्घसंस्थाले पनि पहल गरेको अस्पतालका प्रमुख डाक्टर बरालले जानकारी दिनुभएको छ ।
जिल्लामै निःशुल्क शल्यक्रिया सेवा सुरु भएपछि पोखरा, काठमाडाँै जानुपर्ने तथा हजारौँ रुपैयाँ खर्चिनुपर्ने झन्झटबाट पनि मुक्त भएकामा जिल्लावासी हर्षित बनेका छन् ।