नुनखानी छेउका बासिन्दा आयातित नुन खाँदै

मुस्ताङ, १४ साउन/ नजिकै नुनखानीको पहाड छ । घाम लागेको समयमा त्यही नुन बगेर खेर गइरहेको हुन्छ । तैपनि, मुस्ताङको छुसाङ गाविसस्थित तेताङ गाउँका वासिन्दा २० वर्षदेखि त्यही नुनखानी हेरेर आयातित नुन खान बाध्य छन् ।
नुन उत्खननका समयमा निःशुल्क नुन उपभोग गर्दै आएका तेताङवासी अहिले केजीको हिसाबमा महँगो मूल्य तिरेर नुन उपभोग गर्न बाध्य भएका हुन् । स्थानीय घुली गुरुङले उत्खनन गर्न छाडेपछि नुनखानी अलपत्र बनेको स्थानीय युवा पेमादोर्जे गुरुङले जानकारी दिए ।
“एक पोका नुनको हामीले ३० हालेर उपभोग गर्न बाध्य छौँ, तर नुनखानीको उत्खननबारे कसैले चासो दिदैनन्”– उनले भने । त्यही उत्खनन गरिएको नुनले २० वर्षअघिसम्म तेताङ र सिङ्गो मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी र बागलुङ जिल्लामा समेत निर्यात हुने गरेको थियो ।
नुन उत्खननको समयमा गाउँमा व्यापार व्यवसाय पनि राम्रो सञ्चालन हुने गरेको गुरुङको सम्झना छ । वार्षिक ७० मुरीसम्म नुन उत्खनन हुने गरे पनि राज्यको ध्यान पुग्न नसकेको स्थानीयवासीले बताएका छन् ।
हालै उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको प्राविधिक टोलीसँग स्थानीयवासीले नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका थिए । खानी क्षेत्रमै आयातित नुन खाने व्यवस्था अन्त्य गर्न माग गरेको स्थानीय छिमीपेम्बा गुरुङले जानकारी दिए ।
खानी तथा भूगर्भ विभागका प्राविधिकहरुले पनि तत्काल नुनखानी उत्खनन गर्न सम्भव रहेको निष्कर्ष निकालेका थिए । वरिष्ठ भूगर्भविद् धर्मराज खड्काले नुनखानी उत्खननका लागि आवश्यक प्रक्रिया अघि बढाउने मन्त्रालयलाई सुझाव दिइएको बताए ।

रासस