
हरिकृष्ण गौतम
म्याग्दी, ११ साउन/ बागलुङको हटिया गाविस–३ काउलेकी २९ बर्षिया रिता घर्तीले पेट दुख्ने, पेट पोल्न थालेपछि नजिकैको स्वास्थ्य चौकीमा गएर समस्या बताईन् । उनलाई स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीले ग्याष्ट्रिकको समस्या देखाउँदै औषधी दिए । केही महिना स्वास्थ्यकर्मीको सल्लाह अनुसार नै औषध्री सेवन गरेपनि भनेजस्तो निको नभएपछि पुनः समस्या देखाउँदै जाँदा महिनावारीमा गडवडी हुनसक्ने भन्दै पुनः औषधी दिए ।
घर्तीले स्वास्थ्यकर्मीको सल्लाह अनुसार नै औषधी प्रयोग गरिन तर पनि निको भएन् । २०५९ सालदेखी यो क्रम निरन्तर चलिरहयो । कक्षा ९ मा अध्ययरत देखी सुरू भएको उनको समस्याला करिव १४ बर्षसम्म समेत निको भएन् । गाउँदेखी अञ्चल अस्पताल बागलुङ, पाल्पाको मिसन अस्पताल सहित बुटवलसम्म उपचारका लागि पुग्दा समेत निको नभएपछि सामान्य औषधीमै धेरै बर्ष विताईन् । पेटमा दिनप्रति दिन समस्या बल्झिन थालेपछि विदेशमा रहेका आफन्त सहित विभिन्न सञ्चारमाध्यमबाट समेत जिल्ला अस्पतालको सेवाका बारेमा समाचार सुनेकी घर्तीले श्रीमान ओमप्रकाशलाई लिएर गत साउन ३ गते घरबाट म्याग्दी तर्फ लागिन् ।
बाटोमा आफन्त देखी छिमेकीले उपचार गर्न कहाँ जाने भन्दै गरेका प्रश्नमा घर्तीले म्याग्दी अस्पताल भन्दा धेरैले आश्चर्य माने । पोखरा, काठमाण्डौमा जानुपर्ने अवस्थामा बागलुङ भन्दा पनि दुर्गम जिल्लामा पुरानो समस्या भएको रोग लिएर गएको भन्दै धेरैले त्यसमा पुर्नविचार गर्न समेत अनुरोध गरेपनि घर्ती दम्पत्तीले आफ्नो योजनामा कुनै परिवर्तन गरेनन् । म्याग्दीको सदरमुकाम बेनीमा एक रात विताएपछि साउन ४ गते अस्पतालमा पुगेका घर्तीले डा।धिरेन मल्लको नामै लिएर आफ्नो समस्या सुनाउन थालेपछि स्वास्थ्यकर्मी समेत अलमलमा परे ।
डा. मल्लले प्राथमिकतामा राखेर घर्तीको अल्ट्रा साउण्ड गर्दा देब्रे डिम्बकोषमा ट्युमर देखेपछि अप्रेसन गरी ८/४ सेन्टिमिटरको ट्यूमर निकालिएको छ । ‘१४ बर्षपछि मेरो जिवनमा खुसी फर्किएको छ । मेरो रोगले परिवारलाई पनि धेरै समस्या भएको थियो’ घर्तीले भनिन् । स्कुले विद्यार्थी देखीको समस्यालाई समाधान गर्न धेरै औषधी खाएपनि वास्तविकता फरक रहेको बताउँदै यस्ता समस्या भएका धेरै महिलाहरू गाउँघरमा रहेको समेत बताईन् । ‘म अलिअलि पढेको मान्छेको हालत यस्तो छ भने अरूको के होला’ घर्तीले भनिन् । उनले महिनावारी हुदाँ भेडाबाख्रा, राँगोको आलो मासुबाट निस्कने रगत जस्तै आउने गरेपनि धार्मिक परम्परा र समान्य रोग सम्झिएकै कारण समस्या भएको बताउँदै रोग लुकाउँदा महिलालाई धेरै समस्या हुने समेत बताईन् ।
उनले धेरैजसो समाचारमा जिल्ला अस्पतालमा मृत्युको नजिक पुगेका विभिन्न रोगका विरामीको समेत सफलतापुर्वक उपचार भएको सुनेपछि आफ्नो समस्या समेत म्याग्दीमै समाधान हुने विश्वास लिएर आएको र सोही अनुरुप सफलता मिलेको बताउँदै यसलाई आफुँले चिनेको सबै क्षेत्रमा पु¥याउने समेत बताईन् । उनका श्रीमान ओमप्रकाशले समेत यस्तो निजी अस्पतालमा करिव ७० हजारसम्म लाग्ने अप्रेसन ७ हजार खर्चमै भएको बताए । ‘स्वास्थ्यकर्मीले भनेअनुसार नै पैसा लिएर आएको थिए । तर खर्च भनेजस्तो भएन’ उनले भने। अप्रेसन सफल भएपछि घर्ती दम्पत्तीले आफन्तलाई फोन गरेर समेत अस्पतालको सेवाका बारेमा समेत बताइरहेका थिए ।
‘यो जिल्लामै पहिलो ट्युमरको अप्रेसन हो । हामीलाई पनि सफलता मिलेको खुसी लागेको छ’ डा. मल्लले भने । उनले छिमेकी जिल्लाको दुर्गम गाउँसम्म जिल्ला अस्पतालको सेवासुविधाको बारेमा पुग्नु नै सबैभन्दा खुसीको खवर भएको समेत बताए । ‘अझै केही नयाँ र आवश्यक सेवा विस्तारको तयारीमा छौ’ अस्पतालका क्लिनिकल प्रमुख समेत रहेका मल्लले भने । जिल्ला अस्पतालमै धेरै सेवा सुविधाहरू विस्तार गरी आर्थिक अवस्था कमजोर भएकालाई सहज र निशुल्क सेवा प्रवाह गर्ने गरी प्रविधि सहितको प्रयोगलाई समेत प्राथमिकतामा राखिएको बताए । निक साईमन ईन्च्सियुट अमेरिकाको प्राबिधिक तथा जिल्ला अस्पताल म्याग्दीको ब्यवस्थापन अप्रेसन सहितको प्रसुती सेवा सुरु भएयता गुणस्तरीय सेवा र जटिल अप्रेसनको गर्न थालिएको थियो ।