मुस्ताङमा चौंरीको रगत पिउने मेला

प्रताप बानियाँ
म्याग्दी, ६ साउन/मुस्ताङको जोमसोम नमखुलेकमा चौरीको रगत पिउने मेला सुरु भएको छ । अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि नमखुलेकमा जोमसोमका किसानले पालेका चौंरीको रगत पिउने मेला सञ्चालन गरिएको हो ।
बुधबारदेखि सुरु भएको चौरीको रगत पिउने मेला साउन १३ गतेसम्म सञ्चालन गरिने स्थानीय चौरी पालक किसान भूपेन्द्र शेरचनले बताउनुभयो । उच्च हिमाली क्षेत्रमा यार्सागुम्बा, जटामसी, पाँचऔँलेलगायतका बहुमुल्य जडिबुटी खाएका चौंरीको रगत पिएमा पेटसम्बन्धी रोग निको हुनुका साथै शारीरिक स्फुर्ती बढ्ने जनविश्वास रहिआएको छ । मेलामा हरेक दिन ५० जना भन्दा धेरैले चौरीको रगत पिउने गरेको आयोजकले जनाएको छ ।
एक गिलासको १६० रुपैयाँका दरले चौंरीको रगत बिक्री गरिने किसान शेरचनले जानकारी दिनुभयो । ‘नमखुलेकमा चौरीको रगत पिउन आउनेलाई खानेबस्ने व्यवस्था पनि मिलाएका छौं’ उहाँले भन्नुभयो । लेकमा चरेको चौरीको रगत पिउनाले गानोगोला, ग्याष्ट्रिक, मधुमेह, सुन्नेको, सर्केमर्केको, हाडजोर्नी दुख्ने र पेटको समस्यालगायतका रोग निको हुने विश्वास छ ।
मेलामा चौंरीको रगत पिउन बाग्लुङ, म्याग्दी, पर्वत, कास्की, लमजुङ, तनहुँ, काठमाडौंसहितका जिल्लाबाट मानिस आउने गरेको मेलाका आयोजकले बताएका छन् । जोमसोमका किसानले नमखुलेकमा व्यवसायिक रुपमा पालेको चौरीबाट आवश्यकताको आधारमा घाँटीमा सुइरोले रोपेर एउटा भाले चौंरी (याक)बाट झण्डै १५–१८ गिलाससम्म रगत निकाल्ने गरिन्छ ।
परम्परागत रुपमा सञ्चालन हुँदै आएको जिउँदै पशुबाट रगत निकालेर पिउने मेलालाई पशु अधिकारकर्मीले भने पशु अधिकार विपरीत रहेको प्रतिक्रिया दिएका छन् ।
परीक्षण नगरी खाएको चांैरीको रगतले रोग निको हुने कुनै वैज्ञानिक आधार नभएकाले परम्परालाई रोक्न आग्रह गरेको मुस्ताङका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्माले बताउनुभयो ।