गर्मी छल्न र मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय पर्यटकले यतिबेला पोखरा भरिभराउ हुनुपर्ने हो । तर, पोखराले यो सिजनमा धेरै भारतीय गुमाउनु पर्योट। धेरै भित्र्याउन नसक्नुको मुख्य कारण सडकको सिन्डिकेट रहेको यहाँका पर्यटन व्यवसायिको भनाइ छ । पर्यटन व्यवसायीका अनुसार सिन्डिकेटको अवरोध सबैभन्दा बढी नकारात्मक सन्देशको रुपमा भारतीय र त्यहाँका टुर अपरेटरमाझ फैलिएको छ । त्यसबाहेक सीमा नाकादेखि पोखरासम्म सिधा पर्यटक बसको असुविधाबारे पनि भारतीय पर्यटक र व्यवसायी जानकार छन् । नेपाल जोड्ने हवाई मार्ग पनि अध्यधिक महँगो रहेको उनीहरुको गुनासो छ ।
हालैमात्र भारतका विभिन्न सहर पुगेर पर्यटनको अवस्था बुझेका नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पोखराका पूर्वअध्यक्ष ओमप्रकाश पाण्डेले नेपालको असुविधा र भोग्नुपर्ने सम्भावित समस्याबारे जानकार भएपछि भारतीय पर्यटक अन्यत्र मोडिन थालेको बताए । यहाँको असुविधा देखाउँदै भारतीय व्यवसायीले नेपाल आउन चाहनेलाई अन्यत्र पठाइरहेको उनले बताए । नेपाल आउने पर्यटकलाई भारतीय व्यवसायीले थाइल्यान्ड र मलेसियातिर पठाइरहेका छन् ।
‘यहाँको यातायात असुविधाबारे भारतमा व्यापक हल्लीखल्ली छ । पर्यटकलाई नेपाल नजान त्यहाँका व्यवसायीले सुझाइरहेका छन्,’ उनले भने, ‘गर्मी छल्न आउनेलाई अन्त्रय मोड्न त्यहाँका व्यवसायी सफल जस्तै भइसकेका छन् ।’ मुक्तिनाथ दर्शन गर्न जाँदा पर्यटकले खेपेको समस्या र दुव्र्यवहारका कारण पनि भारतीय व्यवसायीले पर्यटकलाई नेपाल नजान सुझाइरहेको उनले बताए ।
‘सबैभन्दा बढी समस्या नै यातायात क्षेत्रमा छ । सिन्डिकेटको कारणले चाहेको गाडीमा यात्रा गर्न पाइँदैन । मुस्ताङमा त भारतीयलाई सुविधासम्पन्न गाडीमा जान पनि दिँदैनन् भन्ने सन्देश फैलिएको छ,’ पाण्डेले नागरिकसँग भने, ‘यसकै कारण यो सिजनमा सोचेजति भारतीय नेपाल आएनन् । अघिल्ला वर्ष यो बेला धेरै भारतीय नेपाल आउँथे । तर अहिले निकै नै कम भए ।’ सीमा नाकाबाट पोखरा पुग्न गाडी पाइँदैन भन्ने सन्देशले पनि नराम्रो असर पारेको उनले बताए । ‘नेपालबारे सकारात्मक सन्देश फैलाउन गएका हामीले त्यहाँका व्यवसायीसामु यहाँको सडक अवरोधबारे विश्वस्त पार्न सकेनौं,’ उनले भने ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्माले सडक अवरोधकै कारण यो सिजनमा २५ प्रतिशत भारतीय तिर्थयात्री घटेको जानकारी दिए । ‘यतिबेला आउने भारतीय तिर्थयात्री हुन् । मुक्तिनाथ दर्शन गर्न जाँदा उनीहरुले निकै सास्ती खेप्नुपरेको छ,’ उनले भने, ‘पोहोर परारजस्तो तिर्थयात्री आएनन् । आएर फर्किएकाले पु¥याएको सन्देशको कारण पनि आउन चाहेकाहरु तर्सिए ।’
भारतीयमात्र नभई भारतीयजस्तै देखिने बंगलादेशलगायतका पर्यटकले पनि यसपटकको भ्रमण रद्द गरेको उनले बताए । ‘बेनी–जोमसोम सडक खण्डको अवरोध, पासपोर्ट जाँच, यात्रु सवार गाडी तोडफोड, बीचबाटै फर्कनुपर्ने बाध्यताले अहिले धेरैलाई असर पारेको छ,’ उनले भने, ‘यो अवरोधको असर दीर्घकालीन हुनेछ ।’
सिन्डिकेटसँगै महँगो हवाई भाडा, भारतको निर्वाचनले पनि यो सिजनमा केही असर पारेको उनले बताए । ‘यतिबेला नेपाल आउने भारतीयमध्ये अधिकांश धार्मिक पर्यटक हुन्छन् । धार्मिक क्षेत्रबारे राम्रो खबर छैन,’ शर्माले भने, ‘सडकमा अवरोध गर्नु राम्रो होइन । यसले सबैलाई नोक्सान पु¥याउँछ । तिर्थयात्री दोहोरिएर आउने पर्यटक होइनन् । त्यसैले हामीले उनीहरुलाई निर्वाध घुम्ने वातावरण बनाउनुपर्छ ।’
नाट्टा अध्यक्ष पोमनारायण श्रेष्ठ दुई महिनादेखि सडकमा भइरहेको अवरोधले भारतीयको ठूलो हिस्सा गुमेको बताउँछन् । भातरीय टुर अपरेटरले दिनहुँ यसबारे फोनमा सोधपुछ गरिरहेको उनले बताए । ‘भारतीय व्यवसायी दिनहुँ मलाई फोन गरेर सिन्डिकेटबारे सोधिरहेका छन् । यो हल्लाले कतिपय भारतीयले नेपाल भ्रमण नै रद्द गरिसकेका छन्,’ उनले भने, ‘भारतीय व्यवसायीसामु हामीले ठूलो समस्या छैन भनेर झुट बोल्न मिलेन । वास्तविकता बताउँदा पर्यटक आउँदैनन् ।’ मिलाउने प्रयास भइरहेको छ भन्नेबाहेक अरु विकल्प छैन ।’
नेपाल भ्रमण सकेर फर्केका कतिपय पर्यटकले यहाँ दुःख पाएको भन्दै ट्राभल एजेन्सीसँग रकम फिर्ता मागेको समेत उनले बताए । ‘पैसा मागेपछि हामीलाई फोन गर्छन् । वास्तविकता बताउनै प¥यो । यसले पारेको असरको क्षतिपूर्ति नै हुँदैन,’ श्रेष्ठले भने, ‘नेपालमा पनि विशेषगरी मुक्तिनाथसम्मको यात्राबारे अहिले जत्तिको नराम्रो सन्देश कहिल्यै पुगेको थिएन ।’ नेपाल घुम्न जाँदा दुःख पाइन्छ भन्ने सन्देश भारतमा पुगेको उनले बताए । ‘सरकार, प्रशासक र सबै व्यवसायीले यसको असरबारे बेलैमा सोच्नुपर्छ, नत्र यसको ठूलो मुल्य चुकाउनुपर्छ,’ उनले भने । सन्तोष पोखरेल