केशवशरण लामिछाने
नेपाललाई चिनाउन प¥यो भने हामी २५ सय वर्षअघि फर्कन्छौं र त्यतिबेलाका एक महापुरुषको नाम लिएर गर्वसाथ भन्छौं ‘भगवान बुद्ध’ जन्मेको देश हाम्रो हो । होइन कसले भन्यो भनेर कुनै तेस्रो मुलुकको व्यक्तिले प्रश्न ग¥यो भने हामी भारततिर औंला ठड्याउँछौं । टिठलाग्दो चित्त हाम्रो यहीं देखिन्छ कि कागले कान लान सक्दैन भन्ने हामीलाई थाहै छैन र लग्यो भन्दै त्यसको पछि कुद्छौं । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरालाई अति राष्ट्रिय भावना बनाउँदै उचाल्छौं र त्यही कुरा टिसर्टमा लेखेर गल्लीगल्लीमा पैदल यात्रा गर्दै वा साइकल कुदाउँदै हल्लीखल्ली मच्चाउँछौं ।
सत्य के हो बुद्ध नेपालमा जन्मेका होइनन् भनेर भारतको विद्वत वर्गले कहिल्यै भनेको छैन । अर्काे सत्य के हो भने बुद्ध जन्मस्थलबारे संसारमा अहिले औपचारिक रुपमा कहींकतै विवाद छैन । अकाट्य सत्य झैं यो औपचारिक रेकर्डहरुमा दर्ज भइसकेको छ कि बुद्ध जन्मस्थल लुम्बिनी नेपाली भूगोलको अखण्ड अंश हो । जन्मस्थलबारे हामीले भन्ने गरेजस्तो विवाद पहिला पनि थिएन । विश्वभरकाले नै के मानेका थिए भने बुद्ध जन्मस्थल लुम्बिनी हो । संसारका सबैजसो दस्तावेजहरुले यही उल्लेख गरेका छन् । बरु लुम्बिनीचाहिँ कहाँ पर्छ भन्ने यकिन थिएन । त्यो नेपालमा पर्छ भन्ने यकिन भएको अहिले होइन सन् १८९६ मै हो ।
बुद्धले चार आर्य सत्य बताएका थिए । ती आध्यात्मिक, धार्मिक वा दार्शनिक पाटोभित्र पर्ने कुरा होलान्् । तर हामीले अरु केही आधारभूत सत्य भने जान्नै पर्छ त्योमध्ये एउटा हो— पुरातात्विक खोज÷उत्खनन् गरी लुम्बिनी नेपालमा पर्छ भन्ने प्रामाणिक तथ्य दिने संस्था भारतीय नै हो । त्यो हो, आर्कियोलोजिकल सर्भे अफ इन्डिया । हामीले यसमा चित्त सानो गर्नु बुद्धको अपमान सरह हुन्छ । बुद्धको पञ्चशीलको सिद्धान्तले सत्य बोल भनेको छ भन्ने कुरा हामीले बिर्सनु हुन्न । जर्मन नागरिक डा. ए फुररले भारतीय उक्त संस्थाका तर्फबाट उत्खनन् गरी लुम्बिनी नेपालमा पर्ने तथ्य १८९५ मा सार्वजनिक गरेका थिए । त्यसैको फलस्वरुप १८९६ मा लुम्बिनी नेपालमै पर्ने यकिनका साथ प्रमाणित भएको हो । त्यतिमात्रै होइन त्यसपछि १८९८ र ९९ मा भारतकै पुरातत्वविद पीसी मुखर्जीले पुनपरीक्षण शैलीमा लुम्बिनीको खोज उत्खनन् गरी नेपालमा पर्ने तथ्यलाई पुनःप्रमाणित गरी बलियो बनाएका थिए ।
एकाध फिल्मका अज्ञानी निर्देशकले बुद्ध भारतमा जन्मिएका हुन् भने भनेर हामीले टाउको फुटाउनु बुद्धिामानी कुरा पक्कै होइन । ज्ञानी र जान्नेबुझ्नेले बनाएका र लेखेका फिल्म र किताबले त्यस्तो गलत तथ्य मिसाएका छैनन् । निर्देशक बुद्धिमान भएको भए त्यस्तो कुरा भन्दैनथ्यो र उसको फिल्म फल्प पनि हुँदैनथ्यो भन्ने कुरा ‘चाँदनी चोक टु चाइना’ ले प्रष्ट पारिसकेकै छ । केही बजारी किताबमा गलत लेखियो रे भन्ने को पछि लाग्नु पनि व्यर्थ छ, किन कि त्यतिठूलो तथ्य नै उल्टो लेख्ने लेखकको अन्तर्राष्ट्रिय जगतले कहिल्यै विश्वास गर्दैन । विश्वका सम्पदाको सूची राख्ने, त्यसलाई अन्तर्राष्ट्रिय मान्यता दिने र संरक्षण गर्ने आधिकारिक संस्था युनेस्कोले लुम्बिनी नेपालमा पर्ने कुरालाई अमिट ढंगले अभिलेखीकरण गरेको छ । सत्य बुझ्न चाहनेले युनेस्कोको रेकर्डबाट कसी लगाउँछन् । अर्काे मिठो सत्य के पनि छ भने लुम्बिनी बौद्ध विश्वविद्यालय र अरु विभिन्न क्याम्पसमा औपचारिक रुपमा बौद्ध शिक्षा पढ्ने विद्यार्थीले नुछुटाउने भारतीय लेखक पिबी बापतको पुस्तक ‘बुद्ध धर्म के २५०० वर्ष’ मा लुम्बिनी नेपालमा पर्ने प्रष्टै उल्लेख छ ।
भारतले नक्कली कपिलवस्तु बनायो भन्दै बेलाबेला हामी नेपाली जुरुकजुरुक हुन्छौं । बुझ्नुपर्ने सत्य के हो भने कपिलवस्तु भारतले नक्कली बनाउनै पर्दैन । उनीहरुकहाँ पनि आफ्नै सक्कली कपिलवस्तु छ । जसरी मैथलभाषीहरुको बसोबास भएको मिथिला नेपाल र भारत दुवैतिर पर्छ, त्यस्तै कपिलवस्तु नेपाल र भारत दुवैतिर छ । भारतले आफ्नो कपिलवस्तुका चैत्य र विहारहरुको जीर्णाेद्धार गरेको कुरालाई नक्कली ‘बुद्ध जन्मस्थल निर्माण’ भन्नु तर्कसंगत पक्कै नहोला ।
भारतलाई जसले सबैभन्दा बढी गाली गर्छ र उछितो काढ्छ त्यो नै सँच्चा नेपाली राष्ट्रवादी ठहरिन्छ हाम्रो देशमा । यस सन्दर्भमा लुम्बिनी, बुद्ध र कपिलवस्तुसँग जोडिएर भारतको अनावश्यक विरोधतिर नलाग्न अनुरोध गर्दा अराष्ट्रवादी वा भारत पक्षधरको बिल्ला भिराइदिने डर छँदैछ । तर सत्य के हो भने बुद्ध जन्मस्थल नेपालमा पर्छ भन्ने स्लोगान टिसर्टमा लेख्दैमा, दुईचारवटा ¥याली गर्दैमा बौद्ध धर्म र दर्शनलाई कुनै योगदान पुग्दैन । त्यसका लागि त नेपाललाई बौद्ध शिक्षा अध्ययनको केन्द्र बनाइनुपर्छ । बौद्र्धमार्गबारे जान्न चाहने सबैले त्यो तृष्णा नेपालबाट मेट्न पाए भने हामीले चिच्चाइरहनुपर्दैन, स्वतः लुम्बिनी नेपालमा रहेको प्रचार हुँदै जान्छ ।
बुद्ध धर्मका चार मुख्य तीर्थस्थलमध्ये त्यसको २५ प्रतिशत हिस्सा हामीकहाँ छ । बुद्धले ज्ञान पाएको बोधगया, पहिलोपटक प्रवचन दिएको सारनाथ र महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर भारतमै पर्छन् । जन्मस्थल लुम्बिनीमात्रै नेपालमा छ । तर, ज्ञान र प्राज्ञिक विकासको कुरा गर्ने हो भने २५ प्रतिशत होइन ५ प्रतिशत पनि हामीकहाँ छैन । बुद्ध नेपालमा जन्मेका हुन् भन्दै कुर्लने हामी कति नेपालीले उनको मूलभूत सिद्धान्त र दर्शन अनित्य, अनिश्वर र अनात्मा बुझेका छौं ? संसारमा कुनै पनि कुरा नित्य चल्दैन, सबै कुरा अस्थायी र क्षणिक हो भनेर उनले भनेको कुरामा हामी कतिले ध्यान दिएका छौं ? बुद्धले ईश्वरको अस्तित्व कहिल्यै स्वीकारेनन् । हामी भने उनलाई नै ईश्वर भनिदिन्छौं । त्यसोभन्दा उनको कति खिल्ली उडेको छ भन्ने हामीले कहिल्यै सोच्यौं ? बुद्धले आत्मा भन्ने चिजै हुन्न भनेका थिए । तर, हामी भने आत्मा र अवतारकै मात्र पछि लाग्छौं । त्यसो गर्नु उनको सम्मान हो र ?
बुद्धलाई मुटुमा राख्यौं भने टिसर्टमा टाँस्नै पर्दैन । हामीले छातीमा राख्यौं भने कतैले जुत्तामा बुद्धको फोटो बनाएछ भनेर कोकोहोलो मच्चाउनै पर्दैन । अनि फेरि कसैले बुद्ध मेरो हो भन्छ वा उनको अपमानका कर्तुत गर्छ भने पनि त्यो उसको मूर्खता हो भन्ने हामीले किन नबुझ्ने ? एकपटक सम्झौं त त्यो कथा — बुद्धलाई कसैले निकै गाली ग¥यो । तर पनि बुद्ध हाँसिरहे । अनुयायीले सोधे, ‘उसले त्यतिका गाली गर्दा पनि केही जवाफ नदिई किन हाँस्नुभएको ?’ बुद्धले सरल जवाफ दिए, ‘उसले गरेको गाली मैले ग्रहण नै गरिनँ उसैलाई फर्काइदिएँ ।’ हामी पनि बुद्धबारेका वाहियात बोली र कर्म ग्रहण नगर्न सक्दैनौं र ? होइन सक्दैनौं र गाली गलौजमै उत्रनुपर्छ भन्ने हो भने हामी कसरी बुद्धमार्गी ? हामी कसरी बुद्धप्रेमी ?