सडकले सहज मुस्ताङी जीवन

लोमान्थाङ (मुस्ताङ), वैशाख ३१ – सडकको पहुँचसँगै हिमालपारिको जिल्ला मुस्ताङ र उपल्लो भेग लोमन्थाङको जीवनमा परिवर्तन आएको छ । बेनी-जोमसोम-लोमन्थाङ-कोरला पाइलट ट्रयाकमा यातायात सञ्चालन हुन थालेपछि त्यस भेगका बासिन्दाले चर्को खाद्यान्न संकटबाट पार पाएका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै घटेको छ । जोमसोम-लोमान्थाङ ८८ किमि ट्रयाक खुलेपछि आन्तरिक पर्यटक बढेका छन् । होटल व्यवसायी लोन्डुप विष्टका अनुसार केही वर्षअघिसम्म यहाँ १ किलो चामल ढुवानी भाडा ४० रुपैयाँ लाग्थ्यो, सडक पुगेपछि १४ मा झरेको छ । ‘पहिले हिउँदमा जाडो छल्न बेंसी झरेकाले घोडा र पिठ्युँमा बोकेर ल्याएमात्र भात चाख्न पाइन्थ्यो, अहिले लोमन्थाङमा भाते संस्कृति मौलाएको छ,’ उनले भने ।
image (2)
हल्का सवारीमा लोमन्थाङ हुँदै चीनको सिमाना कोरला पुग्न सकिने भएको छ । करिब ३ सय २५ किमि सडकबाट तिब्बत र भारतको सुनौली जोडिएका छन् । त्यसको प्रत्यक्ष प्रभाव विकट हिमाली जीवनमा देखिन थालेको छ । पछौटेपन र गरिबीको दुष्चक्रमा फस्दै आएको मुस्ताङको भविष्य कोरला नाकासँग देख्न थालेका छन्, जिल्लावासीले । ०५१ अघिसम्म सियो र जडीबुटी बोकेर बेंसीका बस्ती डुल्ने मुस्ताङीको लवाइ, खवाइ र बसाइशैलीमा व्यापक परिवर्तन आएको छ । सडक पुग्नुअघि घोडापालन मुस्ताङीको जीवन शैलीको अभिन्न अंग थियो, तिनैले खाद्यान्न ढुवानी गर्थे । अहिले गाडीले दैलोमै खाद्यान्न पुर्‍याउन थाले ।

सामाजिक अगुवा इन्द्रधारा विष्टका अनुसार राजधानीलगायत देशका प्रमुख सहरसँग सडक सञ्जाल जोडिएको छ । ‘सडकसँगै केही समस्या पनि उक्लेका छन्,’ उनले भने, ‘भाते संस्कृति बढेपछि पशुपालन र कृषि घटेको छ, खेतबारी बाँझिएका छन् ।’

पोखराबाट २ दिनमा सजिलै तिब्बती सीमा नेचुङ पुग्न सकिने भएको छ । मुस्ताङको छुक्साङमा पर्ने नेचुङ र तिब्बतको ढोल्पासिङ जिल्लाको लेक्जे जोड्ने कोरला नाका खोल्न ०६२ मा नेपाल र चीनबीच सहमति भएको थियो, कार्यान्वयन भएको छैन । छोसेर, छोन्हुप, लोमन्थाङ, चराङ र घमी गाविसले ०५४ देखि ६१ सम्मको अनुदान रकमबाट सडक खने ।