मुस्ताङमा मौलाएको यातयात सिन्डिकेट

म्याग्दी : के तपाई प्रसिद्ध धार्मिकस्थल मुक्ति नाथ दर्शनका लागि मुस्ताङ जाने योजनामा हुनुहुन्छ? यदि तपाईले म्याग्दी हुदै यात्रा तय गर्नु भयो तिन ठाउँमा सवारीसाधन परिर्वतन गर्नुपर्छ। यति मात्र होइन म्याग्दी र मुस्ताङ जीप तथा बस सञ्चालक समिति मातहतका सवारी साधन चढ्नैपर्छ। निर्वाध रूपमा एकबाट अर्को ठाउँमा जान र घुम्न पाउने मौलिक अधिकार ७२ किलोमिटर बेनी जोमसोम सडकखण्डमा कुण्ठित भएपछि राज्य निरीह जस्तै छ।

बेनीबाट मुस्ताङ हिडेको एउटा यात्रुले बेनी घासा, घासा जोमसोम र जोमसोम मुक्ति नाथमा चल्ने छुट्टाछुट्टै समिति मातहतका सवारी साधन अनिवार्य चढ्नुपर्छ। म्याग्दी जीप तथा बस सञ्चालक समितिका अध्यक्ष सुरत केसीले पछिल्लो समय यात्रुहरूको माग र चापलाई ध्यान दिएर म्याग्दी र मुस्ताङ समितिले दैनिक चार चार वटा सवारी साधन सीधा सञ्चालन सुरु गरिएको बताए।

बिहान ११ बजेसम्म हामीले चार वटा बस र जीप सीधा चल्छ, अन्य समयमा हामीले घासासम्म पु:याउँछौ भने त्यो देखिमाथि मुस्ताङ समितिले बोक्छ, उनले भने। सडकखण्डमा दुई समिति माहतहतका करिब दुई सय जीप तथा बसहरू सञ्चालित छन्। दुई समितिले म्याग्दी र मुस्ताङको सीमाना घासामा छुट्टाछुट्टै टिकट काउण्टर स्थापना गरेका छन्। पाँच बर्ष अघि नेपाली सेनाले ‘ट्रयाक’ खोलेपछि सुचारु भएको बेनी जोमसोम सडक अहिले सडक विभागको मातहतमा छ। तैपनि सडक अवस्था जीर्ण र नाजुक छ। यो सडकखण्डमा थुप्रै सवारीसाधनहरू सञ्चालन भएपनि यातायात व्यवस्था विभागले सवारी साधन सञ्चालन अनुमति (ट परमिट) जारी गर्न सकेको छैन। मुक्ति नाथ दर्शन र मुस्ताङ भ्रमणका ‘ हरियो प्लेट’का सवारी साधन सञ्चालनमा समेत यातायात व्यवसायी अवरोध पु:याईरहेका छन्। खाश गरि यातायात व्यवस्था विभागले पर्यटक सवारी सम्बन्धी कार्यविधि २०६८ जारी गरेपछि सोही अनुसार मात्र सवारी सञ्चालन गनुपर्ने भन्दै व्यवसायीहरूले पटक पटक अवरोध पु:याउने गरेका छन।
10250139_689323321124347_4535039468339289597_n
अहिले प्रहरीले बेनीबजारस्थित कालीपुल बसपार्कमा ‘ हरियो प्लेट’ का सवारी साधनको मापदण्ड पुगे नपुगेको चेकजाँच गरिरहेको छ। समितिका अध्यक्ष केसीले मापदण्ड नपुगेका सवारी साधनलाई मात्र आफुहरूले अवरोध पुर्‍याईरहेको बताए। ‘कालो प्लेटका सवारी साधन त जहाँ अनुमति छ, त्यहाँमात्र सञ्चालन हुने हो, हरियो प्लेटका सवारी साधन पनि मापदण्ड पुगेको हुनुपर्‍यो, उनले भने, ‘ पर्यटक व्यवसायीहरूले नियम मिचेर जर्बरजस्त गर्न खोज्ने अनि हामीलाई सिन्डिकेट लगायो भन्ने?’। कार्यविधिमा पर्यटक बोक्ने सवारी साधन वातावरण अनुकुलित यूरो थ्री, फोरवील, होटलको नाममा नभई टुर एण्ड ट्राभल्समा दर्ता भएको हुनुपर्ने र यात्रुहरूको यात्रा योजना हुनुपर्ने लगायतका प्रावधान उल्लेख छ। म्याग्दी र मुस्ताङका व्यवसायीहरूले कानुनमा उल्लेख भएको कुरा मात्र खोज्दा समस्या भईरहेको प्रहरी नायब उपरिक्षक जर्नादन जिसीको भनाई छ। ‘ सरकारले २०६८मा आएर नयाँ कार्यविधि जारी ग:यो, त्यो अनुसारको यहाँका व्यवसायीले खोज्छन्, कुरा विग्रिने त्यही मात्र हो, उनले भने, ‘ दुबै पक्ष अब व्यवहारिक हुनुपर्छ, मापदण्ड अनुसार आएका ‘हरियो प्लेट’ का सवारी साधनहरु छ निर्बाध गईरहेका छन।’

बेनी-जोमसोम सडकखण्डमा देखिएको समस्या समाधानका लागि एक महिना अघि पश्चिमाञ्चल क्षेत्रीय उपक्षेत्रीय प्रशासक लोकराज रेग्मीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन टोलीले धौलागिरिका चारै जिल्लामा अन्तरसंवाद गरेको थियो । उक्त समितिको सुझाबका आधारमा धौलागिरिका चारै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र यातायात व्यवसायीको संयुक्त वैठकले बेनी-जोमसोम सडकखण्डमा अस्याथी परमिट जारी गर्ने, मापदण्ड पुगेका सवारीसाधन हरियो प्लेट सञ्चालनमा अवरोध नगर्ने लगायतका सहमति बनेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम भण्डारीले समस्या समाधानका लागि सर्वपक्षीय छलफल भईरहेको बताए।
10274254_689323177791028_7829588792116278784_n
‘ हामीले यो समस्या समाधानका लागि धेरै पटक छलफल गरिसकेका छौँ, सबैले आआफ्नो अडान छोड्नुपर्छ, उनले भने, ‘हरियो प्लेटहरु पनि मापदण्ड पुरा गर्नुपछ, यहाँका समितिले पनि काननु मात्रै खोज्नुहुदैन्, त्यशो भएन भने दुबैलाई अप्ठ्यारो पर्छ ‘ राजनीतिक दल र यातायात व्यवसायीहरू एकठाउँमा यातायात व्यवसायीहरूको सहि मागका विषयमा जिल्ला स्थित राजनीतिक दलहरूले पनि सहयोग गर्ने भएको छ। मापदण्ड विपरितका हरियो प्लेट सवारी साधन सञ्चालन गर्न प्रशासनले दबाब दिएको भन्दै मुस्ताङ र म्याग्दी समितिले एकहप्ता अघि सुरु गरेको अनिश्चितकालीन यातायात बन्द दलहरुकै आग्रहमा १५ दिनलाई खुलाउन सहमत भएको थियो। सिन्डिकेट हटाउन व्यवसायीहरु तयार हुनुपर्ने र मापदण्ड नपुगेका हरियो प्लेट आउने भन्ने व्यवसायीको गुनासोलाई सम्बोधन गर्न दलहरुले सहयोग गर्ने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको भनाइ छ। Annapurnapost.com