नारच्याङका महिलाहरू व्यावसायीक बाख्रापालन तर्फ

चुलो, चौका र घरायसी कामबाट बचेको समय सदुपयोग गर्दै म्याग्दीको नारच्याङ गाउँका महिलाहरूले सामूहीक बाख्रापालन गरेर आयआर्जन गरेका छन् ।

घर र व्यक्तीगत खर्चका लागि पनि श्रीमान र आफन्तको मुख ताक्नुपर्ने बाध्यताबाट मुक्ति पाएको चार वर्षअघि जिल्ला पशु सेवा कार्यालय, म्याग्दीको सहयोगमा बेशीगाउँ बाख्रापालन समूह गठन गरी व्यवसायीक बाख्रापालन गरेका उनीहरुको भनाई छ ।

पशुसेवा कार्यालय म्याग्दीले समूहका प्रत्येक सदस्यलाई एक÷एक वटाका दरले उपलब्ध गराएको बाख्रा गाउँका महिलाको मूख्य आयस्रोत बनेको समूहकी सदस्य छमायाँ पुनले बताउनुभयो । उहाँका अनुसार अहिले नारच्याङ्को वेशी गाउँ, गाडपार, लेकगाउँ र घरापका एक सय भन्दा बढी महिलाहरूले बाख्रापालन गरेका छन् ।
download (1)
वार्षिक एक लाख रुपैया बराबरका खसी, बोका र पाठापाथी बिक्री गर्ने गरेको स्थानीय टकमायाँ पुनले बताउनुभयो । पुनले भन्नुभयो ‘बाख्रापालन गरेपछि गाउँका महिलाहरु आत्मनिर्भर भएका मात्र छैनन्, लाखौ आम्दानी गर्न पनि सफल भएका छन ।’

सुरुमा पाँचवटा बाख्राबाट व्यावसाय सुरु गर्नुभएकी पुनले १५ वटा खसि बोका बिक्री गरेर एक वर्षको अवधिमा एक लाख रुपैया बचत गर्न सफल भएको जानकारी दिनुभयो । पुजाआजा र मासुका लागि खसि, बाख्रा किन्न ग्राहक घरमै आउने कृषकहरूले बताएका छन् ।

धु्रवसागर शर्मा