जब देश छोडेर हिडियो…

दिपक गौतम

आफ्नो देश छोडेर हिड्ने रहर त सहायद कुनै नेपालीलाई हुन्छ जस्तो मलाई लाग्दैन । तैपनि हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु अमेरिका, जापान, कोरिया, बेलायत वा विश्वका अन्य जुनसुकै मुलुकमा किन नहुन उनीहरु आफ्नै बाध्यता र विवशताले त्यहाँ पुगेका हुन । फरक यत्ति हो कि कोही अध्यनका लागि विदेश गएका छन् त कोही रोजगारका लागि । म बागलुङबाट जव देशको राजधानी काठमाडौँ छिरे त्यतिबेलादेखिनै अध्यनका लागि जापान जाने तयारीमा थिए ।

9841_10200508844443545_1083560149_n-242x300तर सबै आफुले सोचे जस्तो कहाँ हुँदोरहेछ र ? मलाई अध्यनका लागि जापान जाने एक बर्ष पुरानो योजनाअनुसार अघि बढ्न झण्डै एक बर्ष लाग्यो । म काठमाडौँ बस्दा सम्म विहान जापानिज भाषा अध्ययन गर्थेँ र दिउँसो न्यूज २४ टेलिभिजनमा रिपोर्टिङ गर्थे । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको अधिवेशन आएकाले म टेलिभिजनमा विदा मागेर गृहजिल्ला पुगेको थिएँ । प्रेस चौतारी जिल्ला शाखा बागलुङको अध्यक्ष भएकाले मेरो काँधमा केही जिम्मेवारीहरु थिए, महासंघको अधिवेशनका सन्दर्भमा । जतिबेला म वार्ता र छलफलमा व्यस्त थिएँ ठिक त्यतिनैबेला मैले जापानबाट अध्ययन अनुमति पत्र प्राप्त गरेको हुँ ।

जतिबेला जापानबाट ईलिजिविलिटि लेटर आयो, त्यतिबेला हातमा भिषानै परेको जस्तो भयो र मनले आनन्दको अनुभूति ग¥यो । जापान जानका लागि दुतावासमा अन्तरवार्ता दिनेदेखिका सम्पूर्ण प्रक्रियाहरु सकेर भिषा हातमा परेपछि म बाँकी रहेको केही दिन घरपरिवार र आफन्तहरुसग विताउने निर्णय गर्दै गृहजिल्ला गएको थिएँ । म घर फर्कदासम्म हाम्रो उडान फिक्स भईसकेको थिएन । पछि साथीहरुले अप्रिल ७ तारिखको टिकट फिक्स गरेको जानकारी गराए ।

साथीहरुले गराएको जानकारी अनुसार अव मेरो नेपालमा बस्ने समय जम्मा ६ दिन मात्र बाँकी थियो । नयाँ भाषा, नयाँ भेष अनि नयाँ परिवेश भएको अर्कैको मुलुकमा जानुछ, मनमा खिन्नता त हुनेनै भयो तैपनि मेरो बाध्यता हो भन्दै आफुलाई सम्महालिरहे । यताउती गर्दा गर्दै विदेशिने दिन आईहाल्यो । सानो छँदा मेरो बुवा छुट्टी सकेर पल्टन फर्कँदा मेरो ममीको आँखामा आँशु बगेको देखेको थिएँ, त्यसैले आमाका आँशु हेरेर विदा लिन मलाई मन लागेन र काठमाडौँ हिड्नुपूर्वनै घरबाट विदा लिएर बागलुङ बजार आएर बसे ।

श्रीमतीका आँखामा अघिल्लो दिन रातीदेखिनै आँशु छचल्किसकेका थिएँ, मैले उनलाई भोलि विहान म हिड्दा नरुनु भनेर रातभर सम्झाएको थिएँ । तर जतिबेला म घरको मुलढोकाबाट झोला बोकेर बाहिर निस्किएँ श्रीमती सहित घरका अन्य परिवारहरु एक्कासी भक्कान्निएर रुन थाले, मलाई नरमाईलो लाग्यो तै पनि आफुलाई सम्हालेर विदाईका हात हल्लाएर हिँडे । काठमाडौँ नआउँदा सम्म मैले बाटैभरी सोचिरहे कतै मेले देश छोड्ने निर्णय गरेर गलत त गरिन ? तर निर्णय गलतनै भएपनि मसंग कुनै उपाय थिएन देश छोड्नु बाहेक । अप्रिल ७ तारिख बेलुका ११ः३० बजेको हाम्रो उडान थियो तर पनि हामी विमानस्थल ८ बजेनै पुगिसकेका थियौँ, चेकजाँच र अरु कानूनी प्रक्रियाहरु विमानस्थल स्थित अध्यागमन विभागमा पुरा गर्नुपर्ने भएकाले उडान भर्ने समयभन्दा केही घण्टा अघि विमानस्थल पुग्न पर्ने नियम हुँदोरहेछ ।

विमानस्थल भित्र प्रवेश गरेपछि सुरक्षा जाँच सकियो र हामी त्यसपछि नेपालको अध्यागमन विभागबाट पुरा गर्नपर्ने कानुनी प्रक्रियाका लागि लामबद्ध भएर उभिएका थियौँ । डिपेन्डेन्ट, स्टुडेन्ट र भिजिट भिषामा विदेश जान लागेकाहरु एकातिर लाईनमा थिए भने वर्किङ भिषामा विदेश जान लागेकाहरु छुट्टै लाईनमा बसेका थिए । मसंगै मेरा आत्मीय मित्र सुर्दशन रेग्मी सहित अन्य साथीहरु पनि थिए ।

अध्यागमन विभागका कर्मचारीहरुले विदेश जानका लागि लामबद्ध भएका हामीहरुलाई यस्तरी होच्चाईरहेका थिए मानौ हामीले विदेश गएर कुनै अपराधनै गरेका छौँ । हाम्रै देशको विमानस्थलमा हाम्रै देशका नागरिकबाट (विमानस्थलका कर्मचारी) अपमानित भएका हामीहरु विदेशका कुन ठाउँमा सम्मानपूर्वक बाँच्न सकिएला भनेर हामीमा एक खालको फ्रस्टेसन उत्पन्न भयो । उनीहरुले हामीप्रति गरेको व्यवहार देखेर एक दुई शब्द बोलुँकि जस्तो लागेको थियो तैपनि चुपचाप आफ्नो बाटो लागियो । सबै काम सकिएपछि विमानस्थलको प्रतिक्षालयमा बसिरहेका थियौँ, यत्तिकैमा रातीको ११ बज्यो र हामीलाई विमान चढ्नका लागि बोलावट भयो हामी त्यतै तिर लाग्यौँ ।

हामी विमानमा बस्यौँ, मनमा ढुकढुक भएको छ । जन्मेर २६ बर्ष सम्म खाईखेलेको मेरो देश छोडेर म अर्कै भूमिमा जाँदैछु । मेरो देशको राजधानी जहाँ म कक्षा ९ मा पढ्दा देखिनै आउने जाने गर्न थालेको हुँ । त्यहि राजधानी जस्लाई मैले विगत १ बर्षदेखि कार्यथलो बनाईरहेको छु, त्यहि राजधानीको सुन्दरता आकाशबाट नियाल्ने खुब ईच्छा थियो ।

धरहराबाट नदेखिएको सुन्दरता विमानको झ्यालबाट देखिएला भन्ने मैले सोचेको थिएँ । तिहारका बेला काठमाडौँमा देखिने मौसमी झिलिमिलिबाट बनेको सुन्दरता होईन, म त काठमाडौँको स्थायी सुन्दरता हेर्न चाहान्थे । विमानले नेपालको माटो छोडेर आकाशको यात्रा तय ग¥यो तव मेरो मुटु फेरि एक पटक ढक्क फुल्यो । विमान भक्तपुर माथिको आकाशमा उड्दै थियो, मैले झ्यालबाट देशलाई हेर्न चाहेको थिएँ, काठमाडौँको रात्रीकालीन सुन्दरता हेर्ने चाहना थियो तर देशको राजधानी काठमाडौँ पुरै अध्याँरोमा हराईरहेको थियो । नेपालमा लोडसेडिङ छ भन्ने सन्देश त काठमाडौँले आकाशमा उडिरहेको विमानमै पु¥याउँदो रहेछ ।

मुलुक लोडसेडिङको अध्यारोमा छ भन्ने कुरा त मलाई थाहा थियो, त्यसैले काठमाडौँले विमानमा पठाएको लोडसेडिङको सन्देशले मलाई खासै प्रभाव पारेन । जतिबेला विमान बङ्गलादेशको राजधानी ढाकाको आकाशमा पुग्यो त्यतिबेला ढाका पुरै झिलिमिलि थियो अनि बल्ल मलाई देशको सरकारसंग र मेरो देशका नेताहरुसंग आक्रोश उत्पन्न भयो । सँधैभरी चुनाव, लोकतन्त्र, गणतन्त्र, समावेशीकरण लगायत सरकारको नेतृत्व कस्ले गर्ने, बजेट ल्याउने कि नल्याउने, संविधानसभाको बैठक कस्ले आव्हान गर्ने जस्ता सानातिना विषयमा भैmझगडा गरेर देशको विकास कसरी हुन्छ ? यस्तै यस्तै उनुत्तरित प्रश्नहरु मनमा उठे । हुनपनि मुलुकमा विगत दुई दशक देखि त्यहि गणतन्त्र, त्यहि धर्मनिरपक्षता, त्यहि निर्वाचन र त्यही सरकारको नेतृत्व बाहेक अरु कुन विषयमा छलफल र बहस भएको छ र मुलुकको विकास हुन्छ ?

भोलिपल्ट विहान हङकङ विमानस्थलमा ओर्लियौँ । हामीले त्यहाबाट विमान परिवर्तन गर्नुपर्ने थियो, त्यसैले पनि हामी हङकङमा ओर्लिएका थियौँ । जव हामी हङकङ विमानस्थलमा उत्रियौँ फेरि एक पटक मेरो देशको याद आयो । मेरो देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको याद आयो, अनि त्यहाँका कर्मचारीहरुले हामीलाई गरेको व्यवहारको पनि याद आयो । हङकङ विमानस्थलको व्यवस्थापन, त्यहाँको भौतिक संरचना र त्यहाँका कर्मचारीहरुले बाह्यि मुलुकबाट गएका नागरिकलाई गरेको व्यवहार निकै आक्रषक थियो । सवैमाझ शालिन, नम्र र भद्र रुपमा प्रस्तुत हुने कर्मचारीहरु देखेर हामीलाई खुव रमाईलो लागिरहेको थियो । अनि यतिकैमा हामीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीले अघिल्लो दिन गरेको व्यवहारलाई एक पटक सम्झेउँ र भनेउ आखिर सेवाग्राहीहरुसंग नम्र भएर बोल्दैमा के नै सकिँदोरहेछ र ?images

अप्रिल ८ गते स्थानीय समय अनुसार करिव ३ बजेतिर जापानको नारिता ईन्टरनेशनल एयरपोर्टमा हामी ल्याण्ड भएपछि फेरि लामबद्ध भएर उभिएका थियौँ । त्यहाँ पनि थुप्रै फारमहरु भर्नुपर्ने रहेछ, हामी सबै नयाँ भएकाले केही पनि थाहा थिएन । फाराम कसरी भर्ने, कहाँ भर्ने र के के भर्ने हामीलाई केही थाहा थिएन फेरि जापानमा जापानिज भाषा बाहेक अरु प्राय बोलिँदो रहेनछ । हामी त्यति साह«ो जापानिज भाषा बुझ्दैथ्यौँ त्यसैले पनि हामी निकै अलमलमा प¥यौँ । पछि विमानस्थलकैै कर्मचारीले हामीलाई फारम भर्न सिकाए कतिपयको आँफै पनि भर्दिए । नारिता ईन्टरनेशनल एयरपोर्टबाट हाम्रो गन्तव्य अझै १ घण्टाको दुरीमा पर्दोरहेछ । झण्डै एक घण्टा ट्रेनको यात्रा गरेपछि हामी हाम्रो कलेजमा पुगेयौँ, कलेजले त्यहाँ हाम्रो सामान्य भाषाको परिक्षा लियो ।

त्यसपछि कलेजले घरमा टेलिफोन गरेर आफु जापान आईपुगेको जानकारी गराउने व्यवस्था पनि मिलाईदियो र हामीले पालैपालो घरमा जानकारी गरायौँ । त्यसपछि हामीलाई कलेजले होस्टलमा लगेर छोडिदियो, हामी होस्टल पुग्दा झण्डै राती ९ बजेको थियो । होस्टलमा सुदर्शन र म सहित भक्तपुरका रमन श्रेष्ठ र महोत्तरीका गणेश चौहान बस्नुपर्ने थियो । होस्टल भनेपछि सबै कुराको व्यवस्था हुन्छ भन्ने हाम्रो सोचाई थियो तर यहाँको होस्टलमा ग्याँस, फ्रिज, वासिङ मेसिन, ओबन (खाना तताउन प्रयोग गर्ने मेसिन), राईसकुकर र फ्राईप्यान बाहेक अरु थिएन । यहाँको सिस्टमनै यस्तै रहेछ । अघिल्लो दिन काठमाडौँमा खाना खाएर विमान चढेका थियौँ, त्यसबाहेक विमानमा राम्रोसंग खाना पाईएको थिएन । सबै साथीहरु ज्यादै भोकाएका थियौँ तर होस्टलको किचनमा खानेकुरा केही थिएन ।

यतिमात्र होईन खाने थाल वा कचौरा समेत थिएन होस्टलमा न त हामीलेनै नेपालबाट ल्याएका थियौँ । होस्टलमा बस्ने हामी चारै जना नयाँ, बाहिर निस्के हराउने डरले त्यो दिन काँचै चाउचाउ खाएर सुतियो । भोलिपल्ट विहान ९ बजे कलेजले बोलाएको थियो, हामी ८ बजेनै कलेज तिर लाग्यौँ । अघिल्लो दिन राती कलेजले कताबाट हामीलाई होस्टल पु¥यायो भुलिएछ, बाटै भुलेकाले हामी कलेजको ठेगाना सोधखोज गर्दै झण्डै साढे ९ बजे कलेज पुग्यौँ । जापानिजहरु सेकेण्डलाई पनि महत्वपूर्ण ठान्छन् भन्ने सुनेको र पढेको थिएँ नेपालमा तै पनि नयाँ विद्यार्थी भएकाले आधा घण्टा ढिला पुगेर केही फरक पर्दैनहोला भन्ने सोचमा थियौँ तर ढिला भयो भन्दै कलेजले भोलिपल्ट विहान ९ बजे आउनु भन्दै हामीलाई फिर्ता पठायो । हामी कोठामा फिर्ता भयौँ, कोठामा खानेकुरा चाउचाउ बाहेक अरु छैन, चामल कहाँ पाईन्छ थाहा छैन, तरकारी कहाँ पाईन्छ र के भनेर माग्ने त्यो पनि थाहा छैन, नजिक भएका साथीहरुलाई सोधौँ मोवाईल छैन । दिनहरु यस्तरीनै वित्दै गए, दिनभर बाहिर घुम्दा पनि चामल किन्ने पसल भेटाउन सकिएन ।

न हातमा मोवाईल छ र साथीहरुलाई फोन गरेर बोलाउँ, न पसल चिनिएको छ र किनमेल गरौँ निकै समस्यामा परियो । मोवाईल किन्नका लागि बैंकमा खाता खोल्नुपर्ने यहाँको नीति रहेछ, बैंकमा खाता खोल्ने हाम्रो प्रक्रियानै अघि बढेको थिएन । मोवाईल झिक्ने भन्दा भन्दै ४ दिन वित्न आँटिसक्यो, ४ दिन सम्म मुखमा भातको सितो परेको छैन । चाउचाउ खाँदा खाँदा वाक्क परिएको थियो । गणेश भाईले चनाको सातु बोकेर आएका रहेछन्, मैले गुन्द्रुक बोकेर आएको थिएँ । एक दिन मुख फेर्नका लागि मैले त्यहि चनाको सातुबाट ढिँडो बनाए र गुन्द्रुकसंग ढिँडो खाएर चौँथो दिन धकेलियो । पाँचौ दिन हामीले जसरी हुन्छ मोवाईल निकाल्ने योजना बनाएर हिड्यौँ । त्यतिबेला सम्म हाम्रो बैंकको कागजपत्रहरु तयार भईसकेको थियो ।

कलेजमा सफ्ट ब्यांक नामक मोवाईल कम्पनीमा कार्यरत एक जना साथी भेटिएपछि हामीले उहाँलाई मोवाईल ल्याईदिन आग्रह ग¥यौँ, उहाँले बेलुका अवेर सम्म मात्रै मोवाईल हात पर्ने जानकारी गराउनुभयो । मोवाईल हातमा नआएसम्म खाना नपाईने निश्चित थियो त्यसैले मोवाईल झिक्न कम्पनीकै साथीसंग हामी पनि आकिहाभारा जाने निर्णय ग¥यौँ र त्यसर्फ लाग्यौँ । दिउँसो १ बजे आकिहाभारा पुगेका हामीले राती ७ बजे सम्म पनि मोवाईल पाउन सकेका थिएनौँ । केही प्राविधिक समस्याले गर्दा हामीलाई मोवाईल उपलब्ध गराउन नमिल्ने कम्पन्नीले जनाएको थियो तर पछि बल्ल तल्ल एउटा आईफोन हातमा प¥यो । आईफोन हातमा पर्दासाथ मैले मेरो फेसबुक वालमा मोवाईल नम्बर शेयर गरेँ, त्यसपछि लगत्तै साथीहरु सम्पर्कमा आएपछि बल्ल हाम्रो दैनिकि सहज भयो ।

हामीले ति ५ दिनपनि निकै रमाईलो गरी बिताएका थियौँ । कतिपयले घरको सम्झना आयो भन्दै थिए त कतिपयले सञ्चारविहीन भएर बस्नुपर्दा कठिन हुने बताईरहेका थिए । जेहोस् हामीलाई नेपालदेखि जापान सम्मको यात्रा र जापान आईसकेपछिका ५ दिनले के सिकाएको छ भने सामान्य काम पनि तयारीबिना गर्दा समस्या उत्पन्न हुन्छ । त्यसैले आफुभन्दा जानेका र अनुभवीहरुसंग राय परामर्श लिएर अघि बढ्नु उपउक्त हुन्छ भन्नेनै हामी सबैको निष्कर्श हो ।