बागलुङ–मालढुंगा सडक कालोपत्रे

जीर्ण अवस्थाको मालढुंगादेखि बागलुङ बजारसम्मको सडक स्तरोन्नति सुरु गरिएको छ। यसका लागि ५ किलोमिटर सडकखण्ड ६ मिटर चौडा बनाई कालोपत्रे गर्ने काम भइरहेको छ। साँघुरो र जीर्ण भएर दुर्घटनाको जोखिम बढेपछि सडक डिभिजन कार्यालय पोखराले हाल बाग्लुङ नगरपालिका क्षेत्र र पर्वत शिवालयमा स्तरोन्नति कार्य अघि बढाइरहेको छ ।

साढे २ करोड रुपैयाँको लागतमा तीन मिटर बाटो छ मिटर बनाई कालोपत्रे गर्न लागिएको डिभिजन कार्यालय पोखराका प्रमुख इन्जिनियर प्रभातकुमार झाले बताए । ‘बाग्लुङदेखि पोखरासम्मै ट्राफिकिङ बढ्दै गएको छ,’ इन्जिनियर झाले भने, ‘बाग्लुङ र पर्वतमा विभिन्न ठाउँमा काम अघि बढाएका छौं ।’

पर्वत खण्डको शिवालय गाविसमा भने ‘चार लेन’को बनाउन सडकआसपासका डेढ सय घर टहरा भत्काइएको छ । मापदण्डविपरीत सडकको केन्द्रबाट दायाँ÷बायाँ १५ मिटरभित्र अतिक्रमण गरेका संरचना हटाइएको जिल्ला ट्राफिक कार्यालय प्रमुख विकास तिमिल्सिनाले बताए । उनले भने, ‘यसले दुर्घटना न्यूनीकरणमा टेवा पुग्नेछ ।’

शिवालय डिमुवा, पातीचौर, आमबोट, कुस्मालगायत बजारक्षेत्र र अन्य ठाउँमा मापदण्डविपरीत गरी घरटहरा बनाइएका थिए । कुस्मा बजार खण्डमा चार लेन बनाउन ६ करोड रुपैयाँ बजेट प्रस्ताव गरेर स्वीकृतिका लागि पठाएको झाले बताए । झाले भने, ‘बजेट स्वीकृत भएर आए ८ सय मिटर खण्ड चार लेनको बनाउनेछौं ।’ ७३ किलोमिटर लामो उक्त सडकमा ठाउँ—ठाउँमा खाल्डाखुल्डी परेका छन् । बाग्लुङ बजारको रामरेखा घुम्ती, पर्वतको पाङ सहस्रधारा, शिवालय, चुहा, पातिचौर, कास्कीको नयाँ पुल, लुम्ले, काँडेलगायत दर्जनौं ठाउँमा समस्या देखिएको छ ।

डाइभर्सनमा ग्राभेलसहित पिच गर्नुपर्ने, साँघुरो ठाउँमा चक्लाउनुपर्ने, रिटेनिङ वाल निर्माण, खाल्डाखुल्डी पुरेर स्तरोन्नति गर्नुपर्ने आवश्यकता देखिन्छ । बाग्लुङ–पोखरा सडक धौलागिरि अञ्चलका चार जिल्ला प्रवेश गर्ने एक मात्र राजमार्ग भएकोले दुई लेनको बनाउनुपर्ने भए पनि सबै ठाउँमा स्तरोन्नति गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । ‘सवारीको चाप बढ्दै गएकाले चक्लाएर दुई लेन बनाउन आवश्यक छ,’ प्रमुख इन्जिनियर झाले भने, ‘बजेट नहुँदा चाहेअनुसार काम अघि बढाउन सकेका छैनौँ ।’

दुई दशकअगाडि चीन सरकारको सहयोगमा निर्माण गरिएको सडकलाई दुई लेनको बनाउन उद्योग वाणिज्य संघलगायत निकायले माग गर्दै आएका छन् । संघ अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने, ‘दोहोरो सवारीसाधन चल्ने सडकमा अहिले धेरैजसो ठाउँमा एकतर्फी सञ्चालन गर्नसमेत कठिनाइ छ ।’
दुई वर्षअघि सडक विभागको रोड पोल परियोजनाअन्तर्गत करिब ६ करोडको लागतमा मर्मत गरे पनि धेरै ठाउँमा भत्किसकेको छ । दिलीप पौडेल