‘हाम्रापालाका समस्या अझै विद्यालयमै देखिन्छन’

ढुंगाको खरीमा खुल्लाचौरमा साथीहरूसंग पढीरहेको अवस्थामा आकाशबाट पानी परेपछि नजिकैको खरको छाप्रोमा गएर बसेको हिजोजस्तो लाग्छ बावियाचौर ¥यालेखोरकी बृद्धा विष्णु पुनलाई । २०२१ सालमा त्रिभुवन मंगला प्राविमा अध्ययन गरेकी पुनले अभावै अभावका विच विद्यालयका अक्षर चिन्ने प्रयास गर्दाको अवस्थामा दुईजना शिक्षक थिए । पुनजस्तै मोहदत्त आचार्य, पार्वती गुरूङले पहिलो पटक विद्यालयमा आएको सम्झिन्छन् ।
हाल रहेको विद्यालयभन्दा केही पर रहेको विद्यालयमा दैनिक खुल्लाचौरमा पढ्ने, शिक्षकले ढुंगामा लेख्ने, त्यसलाई हातमा लिएर गएको खरीमा लेख्दै सिकेको अनुभवलाई अझै पनि उनीहरूले गाउँको हितमा प्रयोग गरिरहेका छन् । विद्यालय प्राविदेखी माविसम्म आइपुग्दा धेरै परिवर्तन भएपनि पुन, गुरूङ र आचार्यले विद्यालयमा आवश्यकता अनुसार श्रमदान, आर्थिक सहयोग लगाएतका सहयोग गरिरहेका छन् । विद्यालयको स्थापनाकालमा लाल बहादुर गुरूङ प्रधानध्यापक थिए भने प्रेमलाल गुरूङ शिक्षक । दुईजनाले विद्यार्थीलाई अक्षर चिनाएका थिए । ‘धेरैबर्ष वितिसक्यो, विद्यालयमा आएर पढेको पनि तर धेरै समस्या अझैपनि विद्यालयमै देखिन्छन्’ पुनले भनिन् ।
उनले विद्यालयमा भौतिक पुर्वाधार, जग्गा सहित शिक्षकको अभाव अझैपनि देख्दा अचम्मा लाग्ने गरेको बताईन् । ‘हाम्रोपालमा पनि त यी समस्या थिएन । अहिले पनि यही समस्या समाधान गर्न गाउँले कस्सिएका छन’ पुर्व विद्यार्थी आचार्यले समेत थपे । उनले शिक्षा सवैभन्दा महत्वपुर्ण भएपनि भवन, शिक्षकको अभावले विद्यार्थीमा परेको समस्याबाट दुखी भएको बताए । ‘नेताहरू सामान्य उपचार गर्न पनि विदेशमा करोडौ खर्च गर्छन, गाउँका विद्यार्थीहरूले पढ्ने कक्षाकोठा समेत पाउँदैनन्’ उनले भने ।
जिविस र जिल्ला शिक्षा कार्यालयले दिएको भवनका ढुंगा संकलन गरिरहेको अवस्थामा भेटिएका आचार्यले शिक्षामा देखिएका समस्यालाई समाधान गर्न नसक्ने कस्ता नेताहरूले देश चलाइरहेका छन भन्दै प्रश्न समेत गरेका थिए । कक्षा कोठाको अभावमा खुल्लाचौरमा पढ्ने गरेको २१ सालका अवस्था ५० बर्ष वितिसक्दा पनि झेल्नुपरेको भन्दै बृद्धबृद्धाले चिन्ता ब्यक्त गरेका थिए । विद्यालय स्थापनाको बर्ष पनि शिक्षक थिएनन्, विद्यार्थी थिए, अनि भवन थिएन अहिले पनि शिक्षक र भवनको समस्या छ ।बुढेकालमा पनि विद्यालयको समस्या समाधान गर्न सक्रिय रहनुपरेकोमा कुनै दुख नभएपनि शिक्षाको समस्या समाधान गर्न नसक्नु दुखद् भएको समेत उनीहरूको भनाई छ ।
सामुदायिक विद्यालयमा हरेकबर्ष उत्कृष्ट नतिजा ल्याइरहेको विद्यालयले तीनबर्ष अगाडीसम्म भवन अभावमा तीनवटा कक्षालाई समेत एकैठाउँमा राखेर पढाउनुपर्ने अवस्थालाई समेत नजिकबाट हेरेको बताउँदै यस्तो समस्यालाई समाधान गर्न समेत राज्यको सञ्चालन गरिरहेका नेताहरूलाई अनुरोध गरेका थिए । गाउँबाट विदेशमा गएका छोराहरूले चन्दा संकलन गरेर विद्यालयका शिक्षकलाई तलव सहितका सुविधाहरू दिइरहेको बताउँदै कतिदिनसम्म यसले विद्यालय चल्छ भन्दै प्रश्न समेत गरेका थिए । विद्यालयको स्थापनकालका विद्यार्थीहरूका छोराछोरीले विदेशबाट बार्षिक आर्थिक सहयोग जुटाइरहेका छन् भने ब्यवस्थापन समितिमा समेत बसेर समस्या समाधान गर्न कस्सिएका छन् । हरिकृष्ण गौतम