प्राकृतिक सुन्दरता नै सम्पन्न नेपालीको आधार

प्राकृतिक सुन्दरतामा नेपाल विश्वका धनी देशको कोटिमा पर्छ । प्राकृतिक सौन्दर्यताको अवलोकन र उच्च शिखरहरु चढ्ने रोमाञ्चकतालाई सहज र सुलभ बनाउँदै विश्वका मानिसलाई आकर्षित गर्नसक्ने हो भने देशको अर्थतन्त्र सबल र एउटा धनी देशका रुपमा हरेक जनताले गर्व गर्न पाउने थिए ।
पर्यटनले आर्थिक क्षेत्र सबल भएको उदाहरणका रुपमा बेलायतलाई लिन सकिन्छ । बेलायतको प्रमुख आर्थिक स्रोत पर्यटन पनि हो । विश्वभरिबाट लन्डन आउने पर्यटकहरुले पूरै बेलायतको अर्थतन्त्रमा ठूलो टेवा दिने गर्दछन् । हामीले थाहा पाउनुपर्ने कुरा यति मात्र हो लन्डनको कुनै पनि सौन्दर्य प्राकृतिक होइन । सबै मानव निर्मित हुन् र निर्माण गर्न शताब्दियौं लागेको थियो । निर्माण गरिएको सौन्दर्यताबाट देशको अर्थतन्त्र सबल हुनसक्छ भने प्रकृतिले उपहार दिएको सुन्दरताको उपयुक्त समायोजन गरेर नेपाल किन धनी हुन सक्दैन ?
युएई, कतार, मलेसिया मोरक्को जस्ता कैयौं देश जहाँ मानव निर्मित संरचनाका कारण दीर्घकालीन रुपमा धनी भएका छन् । कुनै समय ती देश पनि उजाड, बंजर वा जंगली उपनामले ग्रसित र गरिब कहलाइन्थे ।

Sagarmatha 16आज तिनै देश उद्देश्यमूलक ढङ्गले विश्वभरीका मानिसलाई आफ्नो देशमा आकर्षित गर्दै धनी बन्दै गएका छन् । प्राकृतिक सौन्दर्यमा रमाएर नेपाल भ्रमणमा आउने वा उच्च शिखर चढेर मनोरञ्जन लिने विश्वभरिका मानिसहरुको सङ्ख्या लन्डन वा दुबई हेर्न जाने मानिसहरुका सङ्ख्याभन्दा बढी हुन सक्छ । तर उनीहरुको नेपाल भ्रमणमा बिताउने दिनहरु सहज, सुविधायुक्त र अनुकुल बनाउनुपर्छ । सहज, सुविधायुक्त र अनुकुल नभएका कारण पर्यकहरुले नेपालमा एउटै कुराको अनुभूति गर्दछन् त्यो हो– राज्यसंयन्त्रले जनतालाई मनोमानी ढङ्गले धनी हुन फुक्का छाडिदिएको छ । एकातर्फ राज्यसंयन्त्रबाट सहज हुनुपर्ने सरकारी सेवा, यातायात, विद्युत, खानेपानी र सुरक्षाको अभाव प्रत्यक्ष देखेका हुन्छन् भने अर्कोतर्फ सेवाभन्दा ज्यादा कमाउने ध्यानमा लागेका प्रत्येक जनता आफ्ना व्यवसायबाट रातारात धनी हुने मानसिकताका साथ लुट्न र छिन्न आतुर देखिन्छन् ।
नेपालमा यातायातको व्यवस्थाको उचित व्यवस्थापन छैन । पर्याप्त बिजुली आपूर्ति गर्न सकेको छैन, सहर, राजमार्ग र चोकबस्ती अन्धकार छन् । विदेशीहरुले प्रशस्त खर्च गर्न सक्ने सहर, नगर, गाउँबस्तीमा खानेपानीको सहज आपूर्ति छैन । तर नाफा कमाउनका लागि हरेक निकायमा सर्वसाधारणको तँछाड्मछाड् बढ्दै गइरहेको छ । चाहे खाद्यान्न उत्पादन वा उद्योगधन्दा नै होस् । पर्यटन व्यवसाय, पर्यटकलाई सेवा र पर्यटकबाट आम्दानी पनि सर्वसाधारणमा सीमित भएको छ । राज्यसंयन्त्र देखाउने दाँत भएको छ । राज्य गरिब हुँदै गएको छ र जनता धनी बन्दै गएका छन् ।
प्राकृतिक सुन्दरतालाई अवलोकन गर्ने र उच्च शिखर चढेर रोमाञ्चित हुन चाहने विदेशीहरुका लागि सेवा दिने भावनाको विकास गर्नुपर्छ । यातायात, विद्युत, अस्पताल, स्कुल, खानेपानीमा सम्पूर्ण तवरले राज्यसंयन्त्रको अधीनमा राख्नुपर्छ । अनि मात्र हामी धनी देशका सम्पन्न जनता हुने गर्व गर्न पाउने छौं नभए पाँचवटा महल बनाएर धनी हुन चाहने व्यक्ति पनि अन्त्यमा गरिब देशको जनता नै ठहरिन्छ ।