बाबुरामजीले ‘चिटिङ’ गर्नुभयो (प्रचण्डसँग विशेष अन्तर्वार्ता)

विभिन्न घटकका १० माओवादी पार्टी/समूह/व्यक्तिबीचको एकतापछि नेकपा माआवादी केन्द्र अध्यक्ष प्रचण्ड उत्साहित देखिन्छन् र उनको आत्मविश्वास बढेको छ । राजनीतिक एजेन्डाका रूपमा देशकै पहिलो पार्टी रहेको दाबी गर्ने उनले संगठनमा पनि माओवादी केन्द्रलाई एक नम्बर बनाउने ‘मिसन’ चलाएका छन् । यसका लागि देशदौडाहमा छन् । भद्र सहमति र राष्ट्रिय सरकारको बहस पनि उनकै वरिपरि घुमिरहेको छ । आफूसँग डिभोर्स गरेर हिँडेका बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल नामक पार्टीको औपचारिक घोषणा गरिसकेका छन् । मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’चाहिँ प्रचण्डको कार्यदिशा र कार्यशैलीमा प्रश्न उठाइरहेका छन् । राष्ट्रिय राजनीति र माओवादी आन्दोलनलाई आफ्नो केन्द्रमा राख्न सफल प्रचण्ड के सोच्दै छन् ? बुधवार बिहान आफ्नै निवास लाजिम्पाटमा उनले डिस्कभरी न्युज नेटवर्क डीएनएनसँग लामो कुराकानी गरे । डीएनएनद्वारा सञ्चालित रातोपाटी अनलाइनका लागि प्रधानसम्पादक ओम शर्मा, नेत्र पन्थी र राजेश भण्डारीले माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग गरेको कुराकानीको अंश ।

prachanda (5)
ओह्रालोमा गुडेको तर ब्रेक फेल भएजस्तै हिँडेको गाडीसँग माओवादीको तुलना हुन्थ्यो । जेठ ६ गते १० माओवादी घटकबीच एकता भयो । अब तपाईंंमा केही आशा, अपेक्षा र विश्वास बढेको छ ?

दस माओवादी घटकको एकता खालि केही समूह र व्यक्ति जोड्नेसँग मात्रै सम्बन्धित छैन । दार्शनिक भाषामा भन्ने हो भने ‘माओवादी आन्दोलनको निषेधको निषेध हो’ भन्ने मेरो भनाइ छ । एकीकृत माओवादीलाई विभाजनने निषेध गर्यो विभाजनलाई फेरि एकताले निषेध गरेर माओवादी केन्द्र बनेको हो ।

दोस्रो कुरा, नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न एउटा नयाँ विचार संश्लेषणतिर लैजाने कुरामात्रै होइन, मेरो बुझाइ के छ भने, यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनकै चुनौती सामना गर्ने एउटा नयाँ पहल हो । जनयुद्धमा हुँदा हाम्रो साझा संकल्प थियो कि, २१औं शताब्दीका लागि हामीलाई एउटा नयाँ कम्युनिस्ट घोषणापत्र चाहिएको छ । अहिले विश्व भूमण्डलीकरण, विज्ञान प्रविधिको विकास, मौसम परिवर्तनको प्रभावसँगै सूचना प्रविधिमा जसरी तीव्र विकास भइरहेको छ, ती सबैलाई एउटा नयाँ संश्लेषण गरेर घोषणा गर्नु जरुरी छ । जसले नेपाली क्रान्तिलाई मात्रै नयाँ उचाइमा उठाउने होइन बरु विश्वक्रान्तिलाई पनि योगदान दिनुपर्ने चुनौती नेपालका कम्युनिस्टको काँधमा छ भनेर हामीले निष्कर्ष निकालेका थियौं । त्यतिबेला ‘२१औं शताब्दीमा जनवादको विकास’ सम्बन्धी प्रस्ताव मैले पेस गर्दैगर्दा किरण, बाबुरामलगायत सिंगो केन्द्रीय समितिले ‘ऐतिहासिक निष्कर्ष’ भन्दै त्यतैपट्टि केन्द्रित हुनुपर्छ भनेको थियो ।

अहिले यो १० माओवादी घटकको एकतामा किरणजी (मोहन वैद्य) पनि आऊन् भन्ने हाम्रो कोसिस थियो र बाबुरामजी फुत्केर नजाऊन् भन्नेतिर पनि हाम्रो कोसिस थियो । कसैले गहिरोसँग माओवादी आन्दोलनको अध्ययन गर्दै छ भने उसले थाहा पाउँछ । गत वर्षमा एउटा २५ बुँदे प्रस्ताव पेस भएको थियो र त्यो प्रस्ताव नेपालमा एउटा नयाँ वैचारिक संश्लेषण गर्ने र विश्वक्रान्तिलाई योगदान गर्ने महान् उद्देश्यमा आधारित थियो ।’ त्यसका निम्ति सबै केन्द्रित हुनुपर्छ भनिएको थियो । त्यसैले जेठ ६ गतेको पार्टी एकता सामान्य माओवादी समूह मिले भन्नेसँग सम्बन्धित छैन, यो एउटा इतिहासको, वर्गसंघर्ष र कम्युनिस्ट आन्दोलनको विश्वव्यापी आवश्यकतालाई दृष्टिगत गरेर सुरु गरिएको पहल हो । नयाँ ‘इनिसियटिभ’ हो ।