बागलुङ, १३ असोज । देशकै जेठोमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङ–२००३ अन्तर्गत बाल पुस्तकालय सञ्चालनार्थ शनिबार आयोजित सहयोग अभियान शुभारम्भ कार्यक्रममा चार अक्षयकोषसहित झण्डै पाँच लाख सहयोग जुटेको छ । कार्यक्रममा पुस्तकालयको दिगो विकास र हित हेरेर विभिन्न दाताहरुले अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुस्तकालयका सल्लाहकार परिषद् सदस्य एवं पूर्वअध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले आफ्नी छोरी आराजु श्रेष्ठको स्मृतिमा रु। ५५ हजार पाँच सय ५५ को अक्षयकोषको घोषणा गर्नुभएको थियो । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका लक्ष्मी थापा, अष्ट्रेलियमा रहनुभएका पुनम थापा, पूजा थापा र काठमाडौँमा रहनुभएका कृपा थापाले आफ्ना दिवङ्गत हजुरबुबा महावीर थापा र हजुरआमा पवित्राकुमारी थापाको नाममा रु। ५१ हजार आठ सय १७ को ‘महावीर–पवित्रा स्मृति अक्षयकोष’ स्थापना गर्नुभएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा पुस्तकालयका आजीवन सदस्य बागलुङ नगरपालिका–३ गुठी निवासी गगन पुनले आफ्ना बुबा टीकाराम पुनको स्मृतिमा रु। ५० हजार राशिको अक्षयकोषको घोषणा गर्नुभएको अध्यक्ष थापाले बताउनुभयो । यस्तै बागलुङ नगरपालिका–२ निवासी सुन्दरी श्रेष्ठले आफ्नी आमा भद्रकुमारी राजभण्डारीको स्मृतिमा रु। २५ हजारको अक्षयकोष स्थापना गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
पुस्तकालयका कार्यवहाक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले बाल पुस्तकालयका लागि रु। २५ हजारको चेक अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभएको थियो । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले रु। पाँच हजार सोही कार्यक्रममा प्रदान गर्नुभएको थियो । शिवशक्ति अटोमोबाइल्सका तर्फबाट सञ्चालक शिवशङ्कर शाहले रु। २५ हजार, एनप्याब्सन बागलुङ नगर समितिका तर्फबाट रु। १५ हजार, कोरियामा रहनुभएका सज्जनकुमार सिँहबाट रु। पाँच हजार पाँच सय ५५, काठखोला गाउँपापलिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेबाट रु। तीन हजार सहयोगको प्रतिबद्धता आएको पुस्तकालयले जनाएको छ ।
यस्तै पुस्तकालयका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्षसहित पूर्वअध्यक्ष गोविन्दप्रसाद वंझा, उत्तम श्रेष्ठ, रामप्रसाद शर्मा, विकास शाक्य र निरज शाक्यले रु। पाँच हजारका दरले बाल पुस्तकालयका लागि सहयोग गनुएभएको छ । पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमितिका सदस्यलगायतका सहयोग जुट्ने क्रम जारी रहेको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । “अभियानको शुभारम्भ भएको छ, अब थप सहयोग जुट्नेमा हामी विश्वस्त छौँ, बाल पुस्तकालयका लागि बागलुङ नगरपालिका, विभिन्न वडा कार्यालयहरुबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको छ”, उहाँले भन्नुभयो ।
यसअघि गत माघमा आयोजित पुस्तकालयको स्थापना दिवसमा पुस्तकालयका सल्लाहकार परिषद् सदस्य श्याम श्रेष्ठले रु। एक लाख सहयोग गरेसँगै बाल पुस्तकालयका लागि सहयोग जुट्न सुरु गरेका थियो । यसबीचमा गलकोट नगरपालिका–७ मल्म घर घई हाल जापानमा रहनुभएका तलवीर थापाले रु। २० हजार, कुलवीर थापाले रु। १० हजार, बागलुङ बजार निवासी मछिन्द्र शाक्यले रु। पाँच हजार, सिगाना निवासी बुद्धिविनायक कार्कीले रु। पाँच हजार सहयोग प्रदान गर्नुभएको पुस्तकालयले जनाएको छ ।
अध्यक्ष थापाका अनुसार गलकोट, मल्म घर भई काठमाडौँमा व्यवसाय गर्नुहुने राजु थापाले रु। पाँच हजार, बागलुङ बजारका व्यवसायी अशोककुमार श्रेष्ठले रु। पाँच हजार, पुस्तकालयका पूर्वअध्यक्ष पद्यमचन्द्र राजभण्डारीले रु। पाँच हजार र गुठी निवासी गगन पुनले रु। तीन हजार प्रदान गर्नुभएको छ । हालसम्म अक्षयकोषसहित गरेर रु। चार लाख ८० हजारभन्दा बढी सहयोग सङ्कलन भएको पुस्तकालयका सचिव शर्माले जानकारी दिनुभयो ।
बाल पुस्तकालयका लागि आवश्यक पर्ने सूचना–प्रविधिका उपकरण, बाल साहित्यका पुस्तक, रङ्गरोगन र साजसज्जाका सामग्री आदि सहयोगदाताहरुले उपलब्ध गराउन सक्ने पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । उहाँले बाल पुस्तकालयलाई लागि रु। १२ लाख लागत लाग्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । पुस्तकालयक भवनको छुट्टै कक्षमा बाल पुस्तकालय सञ्चालनमा ल्याउन लागिएको उपाध्यक्ष शर्माले बताउनुभयो ।
पुस्तकालयले सेवाको विविधिकरणसँगै आन्तरिक व्यवस्थापन र सुधारका काममा आफूलाई केन्द्रित गरेको उहाँको भनाइ छ । बाल पुस्तकालय स्थापनाका लागि अभियान अगाडि बढेको र जनस्तरबाट आर्थिक–भौतिक सहयोग जुट्ने क्रम सुरु भएको उहाँले बताउनुभयो ।
बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै विद्यालय उमेरका बालबालिकामा पठन सीपको विकास गर्ने ध्येयले बाल पुस्तकालय स्थापना गर्न लागिएको हो । पुस्तकालयले पठन संस्कृतिको प्रवद्र्धन, भाषा, साहित्य र कलाको जगेर्ना एवं उत्थान, सामाजिक जागरण, सचेतना, सीप तथा नेतृत्व विकास, प्रतिभा पहिचानलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । विभिन्न सङ्घसंस्था, दाता र शुभेच्छुकहरुको सहयोगबाट पुस्तकालय सञ्चालन हुँदै आएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, बागलुङ नगरपालिकालगायत स्थानीय तहबाट पनि सहयोग प्राप्त भएको पुस्तकालयले जनाएको छ ।
जहाँनिया राणाकालको प्रतिकुल समयमा स्थापना भएका कारण पनि विद्यामन्दिर पुस्तकालयको छुट्टै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौं उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले हस्तलिखितसहित विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् ।
पुस्तकालयमा विसं २०७२ देखि विद्युतीय पुस्तकालय ९ई–लाइब्रेरी० पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ । सहयोग अभियान शुमारम्भ कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने भनेर अभियान चलाइरहेको बेला विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालयको अवधारणा ल्याएकोमा धन्यवाद दिँदै यस अभियानलाई नगरपालिकाले आफ्नै अभियानको रुपमा सहकार्य र सहयोग गर्ने बताउनुभयो ।
उहाँले विद्यामन्दिर पुस्तकालयको संस्थागत विकासमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स–साना बालबालिकादेखि किशोरकिशोरीसम्मलाई लक्षित गरी उनीहरूको रुचि र आवश्यकताअनुसार सेवा र सुविधा दिने उद्देश्यले बाल पुस्तकालय निर्माण गर्न लागिएको विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
बाल पुस्तकालयले बालबालिकालाई पुस्तकको सानिध्यमा पुर्याएर उनीहरुको प्रश्न, परिकल्पना, सृजना, रचना, जिज्ञासालाई आकार दिनुका साथै विश्व दृष्टिकोण निर्माणमा सहयोग गर्नुको साथै कुनैपनि समस्यालाई कसरी समाधान गर्ने र नयाँ आविष्कार गर्न गहिरो अध्ययन अनुसन्धानमा मद्धत गर्ने उहाँले उहाँका भनाइ छ ।
विद्यालयमा एउटा निश्चित पाठ्यक्रमभित्रका सीमित विषयहरू, सीमित समयभित्र पढाइने हुनाले बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालयले मात्र पर्याप्त योगदान पु¥याउन नसक्ने हुनाले बाल पुस्तकालयले पठन संस्कृति बढाउन, उनीहरुको रुचि, क्षमतालाई बाहिर ल्याउन, हाम्रो संस्कृति अनुसार उनीहरुको संस्कार र बानीव्यहोरा निर्माण गर्न र बालबालिकाको आवश्यकता र समस्या पहिचान गर्न सहयोग गर्ने वक्ताहरुले बताउनुभयो ।
पुस्तक र पुस्तकालयले हरेक उमेर समूहका मानिसलाई ज्ञान विज्ञानसँग जोड्न हुँदा बाल पुस्तकालयसम्म बालिबालिकाको पहुँच पुर्याउन सके देश र समाजले जवाफदेही, बौद्धिक नागरिक पाउने र हरेक क्षेत्रमा पुस्तकालयको महत्व झन बढ्ने बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले बताउनुभयो । आफू पुस्तकको नियमित पाठक भएको र दिमागलाई सधैँ ताजा राख्न लामो मेहनतले लेखिएका पुस्तकको नियमित अध्ययनले सहयोग गर्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
बाल पुस्तकालयको अवधारणाको ज्यादै महत्व भएको र बालबालिकाहरुले स्वतन्त्र पूर्वक अध्ययन, छलफल र आफूलाई रुचिको विषयमा प्रयोगात्मक अभ्यास गर्ने थलोको रुपमा बाल पुस्तकालय हुनु पर्ने विद्यामन्दिर पुस्तकालयका कार्यवहाक प्रधान संरक्षक लालचन्द्र राजभण्डारीले बताउनुभयो । बालबालिकाका तर्फबाट बोल्दै संस्कार प्रधानले बाल पुस्तकालयले बालबालिकाको ज्ञानको दायरा बढाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाहरुलाई पाठ्यक्रममा मात्र सीमित पार्न नहुने भन्दै अतिरिक्त ज्ञान र चिन्तनको मार्गमा उनीहरुलाई अग्रसर गराउनुपर्ने बताउनुभयो ।
बाल पुस्तकालयमा ज्ञानसामग्रीहरू, खेलौनाहरू, सूचना प्रविधिका सेवा र सुविधाहरू उपलब्ध गराउने र विभिन्न मनोरञ्जनात्मक, शैक्षिक, सिर्जनात्मक, रचनात्मक, बौद्धिक जागरणको विचार विमर्श सञ्चालन गर्न र स्थानीय संस्कार, कला र संस्कृतिका कार्यक्रमहरू उनीहरुलाई सामेल गराउने र उनीहरूको सुन्दर भविष्य निर्माण गर्न बाल पुस्तकालयले साथ दिने पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले बताउनुभयो । सोही कार्यक्रममा नगर प्रमुख श्रेष्ठ र कार्यवाहक प्रधान संरक्षक राजभण्डारीले पुस्तकालयको ‘ब्राण्डिङ लोगो’ सार्वजनिक गर्नुभएको थियो ।