बागलुङ, ९ असोज । बागलुङका दुई पालिकामा संचाल भइरहेको दिगो पर्यटन प्रबर्धन परियोजनाको मंगलबार बागलुङमा अभिमुकीकरण तथा समिक्षा गरिएको छ ।
टिडिएच जर्मिनीको आर्थिक सहयोगमा विवाईसी बागलुङबाट बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा परियोजना संचालन भइरहेको छ । परियोजनाको समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले ढोरपाटन र निसीखोला बागलुङको मुख्य पर्यटकीयस्थल रहेको बताउनुभयो । उहाँले नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन शिकार आरक्षले पर्यटकहरुलाई आकर्षित गरेपनि पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
ढोरपाटनमा पुग्ने पर्यटकहरुलाई त्यहाँको स्थानीय परिकार खुवाउन र स्थानीय कला तथा संस्कृतिले स्वागत गरिनुपर्ने बताउनुभयो । ‘ढोरपाटन पुग्ने पर्यटकहरुलाई स्थानीय रुपमा उत्पादन हुने स्थानीय आलु लगायतका खाद्यान्न तर्फ ध्यान दिनुपर्छ,’ समन्वय प्रमुख थापाले भन्नुभयो,‘अहिले त्यहाँको आलो विक्री गरेर सक्ने र ढोरपाटन पुग्ने पर्यटकहरुलाई बाहिरबाट लगेको आलु खुवाउने गरिन्छ । यसको अन्त्य हुनुपर्छ । स्थानीय खाद्यान्न पर्यटकहरुलाई खुवाउँदा पर्यटकहरु भित्र्याउन सहयोग पुग्छ ।’
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले ढोरपाटन सुन्दरताले भरिपूर्ण भएको बताउँदै दिगो पर्यटन प्रबद्र्धन कार्यक्रमले पर्यटक भित्र्याउन र स्थानीयको आयआर्जन बृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
दिगो पर्यटन प्रबद्र्धन परियोजनाका कार्यक्रम संयोजक उत्तम अर्यालले परियोजनाको सम्पूर्ण क्रियाकलाप तथा आगामी परियोजना अवधिमा सम्पन्न गर्नुपर्ने कामहरु र हालसम्म भएको प्रगति तथा चुनौति र सम्भावनाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले परियोजनाले ढोरपाटनमा घरवास (होमस्टे) तालिम संचालन गरेको बताउनुभयो । उहाँले ३० वटा होमस्टेलाई सहयोग गर्ने लक्ष्य लिइएको र हालसम्म ५ वटालाई सहयोग गरिसकेको बताउनुभयो ।
संयोजक अर्यालले परियोजना मार्फत ढोरपाटन र निसीखोलाका १२ वटा विद्यालयमा ईलाईबेरीको लागि ल्यापटप लगायतका सामाग्री वितरण गरिएको समेत जानकारी दिनुभयो । उहाँले ढोरपाटन र निसीखोलाको दिगो पर्यटनको लागि परियोजनाले काम गरिरहेको बताउँदै ४ वर्षसम्म परियोजना संचालन हुने जानकारी दिनुभयो ।
अभिमुखिकरण तथा समिक्षा कार्यक्रममा ढोरपाटनको संरक्षण क्षेत्रको महत्व, सम्भावनाहरुको सम्बन्धमा तथा विशेषगरी मध्यवर्ती क्षेत्र घोषणा सम्बन्धमा साझा बुझाई कायम गर्नुपर्ने निर्णय गरिएको छ । समिक्षा कार्यक्रमले विषय विज्ञताबाट मध्यवर्ती क्षेत्र घोषणाको बारेमा स्थानीय तहका सरोकारवालाहरु सहित बृहत छलफल गर्नुपर्ने निर्णय गरेको छ । यस्तै बस्तीसहित मध्यवर्ती क्षेत्र घोषणा वा बस्ती रहित घोषणा सम्बन्धमा विभिन्न सरोकारवालाहरुबाट पटक पटक राय संकलन भएको समेत समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।
समिक्षा कार्यक्रममा परियोजनाले सुरुवाती राम्रो गरेको र स्थानीय तहसँग सहकार्य गरेर काम गर्नुपर्ने र समयसमयमा अनुभव आदा प्रदान गर्ने निर्णय गरिएको परियोजनाका संयोजक अर्यालले बताउनुभयो ।
विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहसचिव चुडामणि उपाध्यायले गर्नुभएको थियो ।