विद्यामन्दिर पुस्तकालयलाई व्यवसायीको साथ

बागलुङ, २६ भदौ । समुदायस्तरबाट सञ्चालित देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङ–२००३ को भवन मर्मतसम्भार र रङ्गरोगनका लागि बागलुङ बजारका हार्डवेयर व्यवसायीहरुले निर्माण सामग्री निःशुल्क प्रदान गरेका छन् । सामाजिक उत्तरदायित्व स्वरुप उक्त ऐतिहासिक पुस्तकालयको उन्नतिमा व्यवसायीहरुले हातेमालो गरेका हुन् ।

पुस्तकालयको पेटी निर्माण, साजसज्जालगायत कार्यमा व्यवसायीहरुबाट सहयोग प्राप्त भएको पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले बताउनुभयो । कट्रिना मार्बल सप्लायर्सका सञ्चालक भूपाल कार्कीले रु. २० हजार बराबरको मार्बल निुशल्क उपलब्ध गराउनुभएको उहाँको भनाइ छ । श्रृष्टि हार्डवेयरका सञ्चालक दयाराम पौडेल र महालक्ष्मी हार्डवेयरका सञ्चालक विदेश श्रेष्ठले रु. पाँच÷पाँच हजार बराबरको सिमेन्ट प्रदान गर्नुभएको जनाइएको छ ।

यस्तै व्यवसायी सुधीर श्रेष्ठले एक ट्याक्टर बालुवा उपलब्ध गराउनुभएको थियो । श्रेष्ठ हार्डवेयरका सञ्चालक सुन्दर श्रेष्ठले पुस्तकालयअन्तर्गत स्थापना हुन लागेको बालकक्षका लागि आवश्यक पर्ने रङ्गरोगन र साजसज्जाका सामग्री उपलब्ध गराउनुभएको पुस्तकालयले जनाएको छ । पुस्तकालयले सेवाको विविधिकरणसँगै आन्तरिक व्यवस्थापन र सुधारका काममा आफूलाई केन्द्रित गरेको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले बताउनुभयो ।

बाल पुस्तकालय स्थापनाका लागि अभियान अगाडि बढेको र जनस्तरबाट आर्थिक–भौतिक सहयोग जुट्ने क्रम सुरु भएको उहाँको भनाइ छ । सुरुमा पुस्तकालयको सल्लाहकार परिषद् सदस्य एवं शिशिर–हेमन्त स्मृति बाल अक्षयकोषका संस्थापक श्याम श्रेष्ठबाट रु. एक लाख सहयोग प्राप्त भई बाल पुस्तकालयका लागि आर्थिक अभियान अगाडि बढेको सचिव शर्माले बताउनुभयो । त्यसता देशविदेशमा रहनुभएका पुस्तकालयप्रेमीहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ ।

केही दिनमा औपचारिक समारोहमार्फत सहयोग अभियानको घोषणा गर्ने तयारी भइरहेको सचिव शर्माले बताउनुभयो । बालमैत्री सिकाइ वातावरण सिर्जना गर्दै विद्यालय उमेरका बालबालिकामा पठन सीपको विकास गर्ने ध्येयले बाल पुस्तकालय स्थापना गर्न लागिएको हो । पुस्तकालयले पठन संस्कृतिको प्रवद्र्धन, भाषा, साहित्य र कलाको जगेर्ना एवं उत्थान, सामाजिक जागरण, सचेतना, सीप तथा नेतृत्व विकास, प्रतिभा पहिचानलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । विभिन्न सङ्घसंस्था, दाता र शुभेच्छुकहरुको सहयोगबाट पुस्तकालय सञ्चालन हुँदै आएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, बागलुङ नगरपालिकालगायत स्थानीय तहबाट पनि सहयोग प्राप्त भएको पुस्तकालयले जनाएको छ ।

जहाँनिया राणाकालको प्रतिकुल समयमा स्थापना भएका कारण पनि विद्यामन्दिर पुस्तकालयको छुट्टै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ । स्थापनाकालमा काठमाडौं उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले हस्तलिखितसहित विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् ।

पुस्तकालयमा विसं २०७२ देखि विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ ।