बागलुङ, २१ भदौं । बागलुङको काठेखोला गाउँपालिकाले चाडपर्वको अवसरमा पसलहरुको अनुगमन गरेको छ ।
काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाको नेतृत्वमा बुधबार वडा नम्बर १ दोबिल्ला, खहरे, वडा नम्बर २ अक्षेते बजार र वडा नम्बर ६ को सुलडाँडा, जलजला र दोबिल्ला बजारको अनुगमन गरेको हो ।
अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन तथा बजार मूल्यमा एकरुपता कायम गरि बजारलाई सुव्यवस्थित बनाउनुका साथै उपभोक्ताहरुलाई गुणस्तरीय बस्तु उपलब्ध गराउन नियमित बजार अनुगमन गर्ने कार्य अन्तरगत अनुगमन गरिएको उपाध्यक्ष थापाले बताए । उपाध्यक्ष थापाले चाडपर्व नजिकिदै गर्दा उपभोक्ताहरुको स्वास्थ्यलाई ख्याल गरेर नियमित अनुगमनलाई कार्यान्वयन गरिएको बताए ।
अनुगमनको क्रममा स्वच्छ र सफा खानेकुराको प्रयोग गर्न गराउन, मुल्य सूचि राख्न, गाउँपालिकामा व्यवसाय दर्ता गर्न र म्याद ग्रुजेका खाद्यान्न तथा अन्य सामाग्रीहरु नष्ट गर्नुका लागि व्यवसायीहरुलाई सचेत गराईएको काठेखोला गाउँपालिका राजश्व शाखाका प्रमुख प्रकाश पौडेलले बताए । पौडेलले चालु आर्थिक वर्षको पहिलो अनुगमन भएकोले विगतका वर्षहरुमा अनुगमन नगरिएका स्थानका पसलहरुलाई पहिलो पटक सचेत गराइएको बताए । उनले दोस्रो पटक अनुगमन गरिएको अक्षेत बजार र सुलडाँडा तथा जलजलाका व्यवसायहरुमा धेरै सुधार भएको पाइएको जानकारी दिए ।
बुधबार ५३ वटा पसलको अनुगमन गरिएको पौडेलले बताए । उनले किराना, होटल, रेष्टुरेण्ट, कस्मेटिक, हाडवेयर, फर्निचर लगायतका व्यवसायको अनुगमन गरिएको बताए ।
अनुगमनको क्रममा २३ वटा व्यवसाय स्थानीय तहमा दर्ता भएको र २० वटा व्यवसाय दर्ता नभएको पाइएको गाउँपालिकाका उपाध्यक्ष थापाले बताए । ‘गत वर्ष पनि अनुगमन गरिएको अक्षेते बजार, सुलडाँडा, जलजला लगायतका स्थानका व्यवसायहरु दर्ता भएको पाइयो,’ उपाध्यक्ष थापाले भने,‘पहिलो पटक अनुगमन गरिएको दोबिल्ला र खहरेका धेरै पसलहरु दर्ता नगरि संचालन गरिएको रहेछ । पहिलो पटक अनुगमन गरिएकोले दर्ता गर्नको लागि आग्रह गर्नुका साथै सचेत गराइएको ।’
यस्तै अनुगमनको क्रममा पिय पदार्थ, जङ्क फुड (चाउचाउ, बिस्कुट, कुरकुरे, चिजबल), सेनिटरी प्याड, सुजि लगायतका खाद्यान्नहरुको मिति गुज्रेको भेटिएको उपाध्यक्ष थापाले बताए । उनले दोबिल्ला र खहरेका अधिकांश पसलहरुमा मिति गुज्रेका खाद्यान्न भेटिएको बताए । ‘दोबिल्ला र खहरेका पसलहरुमा धेरै सुधार गर्नुपर्ने देखियो । अधिकांश पसलहरुमा मिति गुज्रेका पिय पदार्थ, खाद्यान्न, सेनिटरी प्याडहरु फेला परे,’ उपाध्यक्ष थापाले भने,‘मिति गुज्रेका सामाग्रीहरु फिर्ता गर्न मिल्ने फिर्ता गर्न र नभए नष्ट गर्नको लागि हामीले छुट्टाइदिएका छौं । व्यवसायहरुलाई अबदेखि सामाग्री खरिद गर्दा मिति हेरेर खरिद गर्न र मिति गुज्रेमा फिर्ता हुने फिर्ता गर्न र नभए नष्ट गर्न निर्देशन दिएका छौं ।’
होटल तथा रेष्टुरेण्टहरुलाई सरसफाईमा ध्यान दिनुपर्ने र मुल्य सूचिलाई सुधार गर्दै कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ ।