नगरकी छोरी पछि नगरप्रमुख स्वरोजगार : नगरप्रमुख बसन्त कुमार श्रेष्ठ (अन्तरवार्ता)

स्थानीय तह गठन पछि बागलुङ नगरपालिका पुन संरचना भयो । साविकको बागलुङ नगरपालिकामा केही गाउँबिकास समितिहरु गाँभेर बनेको बिशाल नगरपालिकामा जनप्रतिनिधि आएको सात बर्ष समय बित्यो । पहिलो कार्यकाल पुरा गरेर दोस्रो निर्वाचन पछिका पदाधिकारीले काम थालेको पनि दुई बर्ष पुरा भएको छ । सदरमुकामको पालिका भएकाले जिल्लाका अन्य पालिकाले समेत जेठो नगरपालिका बागलुङ नगरपालिकासँग धेरै बिषय सिको गर्न खोजिरहेका छन् । गण्डकी प्रदेशकै पोखरा महानगर पालिका पछिको आशालाग्दो स्थानीय तहको रुपमा रहेको नगरपालिकाले आफ्ना काम कारवाही कसरी गरिरहेको छ । नयाँ योजना के छन् ? पुराना योजनाको काम कसरी अघि बढेको छ । आशा जगाने र जनता रिजाउनका लागि कसरी योजना बन्छन् र कार्यसम्पादन हुन्छ । यी र यस्तै बिषयको पेरिफेरीमा अर्जुन कार्कीले नगर प्रमुख बसन्तकुमार श्रेष्ठसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

१) यहाँलाई जननिगरानी विशेष संवादमा स्वागत गर्दछौं ।
– धन्यवाद । सर्वप्रथम जननिगरानी साप्ताहिक पत्रिकाको सातौं बार्षिकोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । पत्रिका दीर्घकालिन रुपमा निरन्तर अगाडी बढोस् शुभकामना व्यक्त गर्दछु ।

२) नयाँ आर्थिक वर्ष आउँदैछ । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट कस्तो ल्याउने सोचमा हुनुहुन्छ ?
– हामी १५ औं नगर सभाको संघारमा छौं । हामी नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारीको लागि दिनरात काम गरिरहेको अबस्था छ । अहिले नगरपालिकाले पूर्वजनप्रतिनिधिहरु, क्रियाशिल राजनीतिक दलका नेताहरु, संघसंस्था, निजी क्षेत्र, पत्रकार र यहाँका बौद्धिक व्यक्तित्वहरुसँग समन्वय, सहकार्य र सुझाव संकलनको कार्यक्रमलाई तिब्र रुपमा अगाडी बढाइरहेको परिस्थीति छ । आन्तरिक रुपमा नगरपालिकाको कार्यपालिका, सदस्य, नगरपालिका भित्र रहेका शाखाका प्रमुख तथा कर्मचारीसँग शाखाबाट भइरहेका गतिविधिका समिक्षा, उहाँहरुको सुझाव, नवप्रवद्र्धन कार्यक्रम के के हुन सक्छन् ? नविनतम कार्यक्रम के के हुन सक्छन् ? अहिलेको समय सुहाउदो बजेट कसरी ल्याउन सकिन्छ र अहिले बागलुङमा समय अनुसारको नीति तथा कार्यक्रम कसरी ल्याउन सकिन्छ र जनताको चाहनाहरु कस्ता छन् ? देशको अर्थतन्त्र, संघ र प्रदेश सरकारले लिएको आर्थिक नीति हेरेर बजेट बनाउँदैछौं । सोही अनुसार अहिले पूर्व तयारीको रुपमा जुटीरहेको अवस्था छ ।

३) चालु आर्थिक वर्ष २०८०/०८१ का नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनबाट के के काम भए ।
– चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन पूर्ण रुपमा परिचालन गर्ने अवस्थामा हुन्छौं । गतआर्थिक वर्षमा ९५% बजेटलाई प्रयोग गरेका थियौं । चालु आर्थिक वर्षमा जुन किसिमले बजेट प्रस्तुत गरेका थियौं । संघिय सरकार र प्रदेश सरकारबाट जुन किसिमको लक्ष्य र सिलिङ्ग दिइएको थियो सोही अनुसारको बजेट नआउनको कारणले कतिपय योजनाहरु प्रभावित भएका छन् । संघिय र प्रदेश सरकारले समानिकरणका बजेट २४ प्रतिशत नआउनु र राजश्वबाट विनियोजित भएका रकमहरु नआउनुले प्रत्यक्ष रुपमा हामिलाई असर गरिरहेको छ । त्यसका बाबजुत बागलुङ नगरपालिकाले ५५० भन्दा बढी योजनाहरु सम्पन्न गरिसकेका छौं र १५० वटा योजनाहरु अन्तिम फरफारकको अवस्थामा छन् ।

४) संघ र प्रदेशले बजेट नपठाउँदा योजनाहरु सम्पन्न गर्न सकेनौं भन्नुभयो । बागलुङ नगरका कुन कुन योजनाहरुमा प्रत्यक्ष असर गर्यो ।
– विशेष गरेर समानिकरणको बजेट नआउनुले प्रत्यक्ष रुपमा नगरपालिकाको सवै कुरालाई असर गरेको छ । त्यसले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई समेत प्रत्यक्ष असर गर्ने देखिन्छ ।

५) तपाईंले तर्जुमा गरेका कार्यक्रम कार्यान्वयनबाट सन्तुष्ट हुनुहुन्छ ?
– संघिय सरकार र प्रदेश सरकारले दिएको सिलिङ्ग अनुसार बजेट बनाउने हो । त्यसमा हामीले आन्तरिक श्रोतलाई भरपुर रुपमा प्रयोग गर्नुपर्ने परिस्थिति पनि छ । हामीले अहिले आन्तरिक रुपमा श्रोतलाई संकलन गर्नको लागि नयाँ रणनीति तयार गरेर जानुपर्ने देखिएको छ । त्यसले गर्दा अबको दिनहरुमा अबको आर्थिक वर्षमा हामीले रेभिन्यू कलेक्सनको विषयमा प्रभावकारी कार्यक्रम गराएर अगाडी बढ्नुपर्ने र रिजल्ट ओरिन्टेड कार्यक्रमलाई विशेष प्राथमिकता, उत्पादनमुखी, उद्यमशिलताको विकास गर्ने कार्यक्रमहरुलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने परिस्थिति देखिएको छ । पूर्वाधारको रुपमा दीर्घकालिन योजनाहरु कुन–कुन हुन सक्छन् ति किसिमका योजनाहरुलाई अगाडी बढाउने । ठूला योजनाहरु हामीले मात्र गर्न सक्ने अवस्था नरहेकोले ठूला योजनाहरुलाई संघिय सरकार र प्रदेश सरकारसँग माग गर्नुपर्छ । साना योजनाहरुलाई ठूला योजनामा रुपान्तरण गर्नको लागि जग बसाल्ने किसिमका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउने विशेष पहल गर्ने तयारी छ ।

६) समृद्ध बागलुङ नगरका लागि तपाईंले गरेका प्रयास के–के हुन् ?
– सवैभन्दा महत्वपूर्ण कुरा शिक्षा र स्वास्थ्यमा धेरै परिवर्तन गरेका छौं । त्यसको रिजल्ट आउन १, २ वर्ष लाग्न सक्छ । स्वास्थ्य क्षेत्रमा धेरै ठूलो फड्को मारेका छौं । स्वास्थ्यका कर्मचारीहरुले पनि त्यो किसिमले काम गर्नुभएको छ । जसले गर्दा स्वास्थ्य क्षेत्रलाई गण्डकी प्रदेशमा बागलुङ नगरपालिकालाई चिनाउने किसिमले काम भइरहेको छ ।

शिक्षा क्षेत्रलाई आमुल परिवर्तन गर्नको लागि यस वर्षदेखि महत्वपूर्ण कामहरुलाई अगाडी बढाएका छौं । शिक्षा क्षेत्रमा विद्यालयहरुलाई डाउनसाइट गर्ने, स्थगन गर्ने, ‘एक कक्षा, एक शिक्षक’को नीति अवलम्बन गर्दै सवै विद्यालयमा वातावरण बनाउने, शिक्षामा पूर्वाधारको विकास गर्ने, बालमैत्री नगर घोषणा गर्नको लागि पूर्वाधार सहितका सम्पूर्ण ५१ वटा सुचाकहरु मध्य धेरै सुचकहरुलाई पुरा गरेर २०८१ पौष मसान्त भित्रमा बालमैत्री नगरपालिका घोषणा गर्नको लागि कार्यक्रम अगाडी बढाएका छौं । उद्यमशिलता विकासको लागि प्रत्येक वडामा धेरै काम गरेका छौं ।

पूर्वाधारको क्षेत्रमा ‘एक वडा, एउटा पक्की सडक’को अवधारणालाई अगाडी बढाएका छौं । सम्भवत अब आउँदो वर्षमा प्रत्येक वडाको वडा कार्यालयसम्म पक्की बाटो पु¥याउने लक्षय अनुसार अहिले धेरै पक्की सडकका योजनाहरु अगाडी बढिसकेको छ । बजार क्षेत्रको सुन्दरता बनाउने कुरामा फुटपाथ सहितको सडकको परिकल्पना गरेर अगाडी बढेका छौं । एउटा वडामा एउटा चिल्ड्रेन पार्क को अवधारणलाई अगाडी बढेको छ । सामाजिक विकासका गतिविधिलाई प्रभावकारी रुपमा काम गरिरहेका छौं । ठूला योजनामा मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोरको सडकलाई यथाशिघ्र छिटो सम्पन्न गर्नुपर्छ भनेर ति बाटोहरुको काम क्रमिक रुपमा अगाडी बढिरहेको जानकारी गराउन चाहन्छु । विशेष गरेर सचिवालयलाई व्यवस्थित गर्न र नगरपालिकाको कार्यालय व्यवस्थापनमा धेरै चुस्तता लिइसकेका छौं । यसलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनको लागि अहिले हामीले पूर्वाधारको काम र कर्मचारीको व्यवस्थापनको पक्षलाई सम्पन्न गरिसकेका छौं । अब दक्ष कर्मचारी र सेवालाई प्रभावकारी कसरी बनाउन सकिन्छ ? त्यसलाई विशेष प्राथमिकतामा राखेका छौं । प्रत्येक वडामा नगरपालिकाको मुख्य कार्यालयमा आउनै नपर्ने गरी विशेष गरेर वडाबाट सेवा दिने र अनलाईन सिस्टमका सेवाहरुलाई प्रभावकारी रुपमा अगाडी बढाएका छौं । स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम अगाडी बढाएका छौंभने २४ सै घण्टा आकस्मिक सेवालाई महत्वपूर्ण रुपमा अगाडी बढाएका छौं । नगरको छोरी कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको छभने अब नगर प्रमुख स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउँदैछौं ।

पर्यटन क्षेत्रमा धेरै ठूलो फड्को मारिसकेका छौं । पर्यटन क्षेत्रलाई लिपिबद्ध गरेर बागलुङ नगरपालिका भित्र रहेका जतिपनि पर्यटनका सम्भावना छन् तिनलाई अहिलेको आर्थिक वर्षमा प्वाइनमा विभाजन गरेर त्यो ठाउँमा जान सक्ने पूर्वाधारको तयारी गर्न लागिरहेका छौं । बजारलाई सुन्दरता बनाउनको लागि उज्यालो बागलुङ कार्यक्रम अन्तरगत विशेष गरेर राती पनि सुन्दर होस् भनेर सडक बत्तिको परिकल्पनादेखि झोलुङ्गे पुलमा बत्ति जडान गरेर कार्यक्रम संचालन गरिरहेका छौं । यो कार्यक्रम बजार क्षेत्रमा मात्र नभई अब १४ वटै वडामा संचालन गर्दैछौं ।

७) नगरप्रमुख बनेपछि ‘बालमैत्री नगर घोषणा गर्ने’ पहिलो निर्णय गर्नुभएको थियो । बालमैत्री नगर घोषणा कार्यक्रमको अवस्था कस्तो छ ?
– बालमैत्री नगर घोषणाको लागि धेरै वडाले पूर्ण रुपमा सूचकहरु पुरा गरिसकेको परिस्थिति छ । चालु आर्थिक वर्ष भित्रै न्यूनतम पनि चार वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम रहेको छ । कतिपय वडाहरुमा पूर्वाधारको कारणले गर्दा रोकिएको छ । स्वास्थ्य तर्फको सुचक बागलुङ नगरपालिकाले प्राप्त गरिसकेको छ । पूर्ण खोपको सुनिश्चितता बागलुङ नगरपालिका घोषणा गरिसकेका छौं । अब हामीले कतिपय सामाजिक रुपमा सुचक पुरा गर्नुपर्ने छभने कतिपय विद्यालयका पूर्वाधारका कारणले रोकिएका छन् । ति विद्यालयका पूर्वाधारका केही कुराहरु यही आर्थिक वर्षमा पुरा गर्दैछौं । २०८१ साल पौष मसान्त भित्र बागलुङ नगरपालिकालाई बाल मैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ अगाडी बढेका छौं ।

८) जनताका अपेक्षा र तपाईंका कार्यक्रमको ताररतम्य कत्तिको मिलेको पाउनुभयो ?
– नगरपालिकाको विकासमा जनताहरुको सहभागिता अनिवार्य छ । जनताहरुको सहभागिता विना कुनै पनि काम सम्पन्न हुन सक्दैन् । विशेष गरेर जनताको सहभागिता नै महत्वपूर्ण हो । जसले गर्दा बालमैत्री मात्र होइन हरेक गतिविधिमा जनताहरुको सहभागिता हुनुपर्छ । जनताहरुबाट बालमैत्रीमा पूर्ण रुपमा सहयोग भइरहेको छ । बागलुङ नगरपालिकालाई जबसम्म बालमैत्री नगर घोषणा गर्न सक्दैनौं । बाल अधिकारहरुलाई सुनिश्चित गर्न सक्दैनौं । तबसम्म हामीभन्दा पछिका पिडिहरुको भविश्य उज्वल हुन सक्दैन् । त्यो किसिमको वातावरण बनाउनको लागि पनि बालमैत्री नगर हुन जरुरी छ । यसमा हरे नागरिकको सहभागिता महत्वपूर्ण छ । अहिले जनताको सहभागिता प्रत्येक टोल–टोलमा, प्रत्येक विद्यालयमा, प्रत्येक वडाहरुमा रहेको छ । सोही अन्तरगत हामी सहकार्य गरेर अगाडी बढिरहेको परिस्थिति छ ।

९) समृद्धिका लागि अझै के गर्नुपर्छ जस्तो लाग्छ ?
– समृद्धि बागलुङ बनाउनको लागि विकासको मोडलहरुलाई परिवर्तन गरेर जानुपर्नेछ । हामीले विकास भनेको पूर्वाधारलाई मात्र लिएका छौं । जबसम्म हामीले बागलुङ नगरपालिकाका जनताहरुको जीवनस्तरलाई माथि उकास्न सकिदैन्, सोचमा परिवर्तन गर्न सकिदैन, सकरात्मक सोचका साथ अगाडी बढ्ने बातावरण बनाउन सकिदैन र हरेक मानिसलाई उद्यमशिलताको विकास सँगसँगै आत्मनिर्भर बनाउन सकिदैन तबसम्म हामीले सोच अनुसारको बागलुङ बन्न सक्दैनौं । त्यसले गर्दा हामीले हरेक गतिविधिमा हरेक नागरिकलाई आम्दानी गर्न सक्ने, आफ्नो खुट्टामा आफै उभिन सक्ने वातावरणको परिकल्पना हामीले गरेर जानुपर्छ । हामीसँग त्यो किसिमको सम्भावना नभएको होइन, सम्भावना पनि छन् । हामी गाउँमै बसेर हामीले अपेक्षा गरेको भन्दा बढी आम्दानी गर्न सक्छौं । कृषि क्षेत्रबाट हुन सक्छ, पर्यटनको क्षेत्रबाट हुन सक्छ त्यसैगरी स्वरोजगारका साना लघुउद्यमका परियोजना अन्तरगत बाख्रापालन, फलफुल खेती, बेमौसमि तरकारी हुनसक्छन् । हामीले दुध, अन्न, हरियो सागसब्जी र मासुमा आत्मनिर्भर बनाउने भनेका छौं । यि कुराहरुमा आत्मनिर्भर गराउन सकियो भने हरेक मानिस आफ्नो खुट्टामा आफै उभिन सक्छ तब उसको सोच परिवर्तन हुन्छ । यस्तो भयोभने समुन्नत बागलुङ अवश्य हुनसक्छ । हाम्रो जीवनस्तरलाई माथि उकास्न सक्यौंभने सोच नै परिवर्तन हुन्छ र समुन्नत बागलुङ बन्न सक्छ । बागलुङ बनाउने जिम्मेबारी हामी सवैको हो । त्यसले सवैले सहकार्य गर्नुपर्छ ।

१०) पछिल्लो समय युवाहरु विदेशीनेक्रम बढ्दो छ । बागलुङ नगरपालिका भित्रका युवाहरुलाई नेपालमै बस्नुपर्छ भनेर नगरपालिकाले के योजना बनाएको छ ।
– यो नेपाल सरकारकै चुनौतिको विषय हो । हामीले युवाहरुलाई रोक्न सक्दैनौं । बैदेशिक रोजगारमा जाने, विदेशमा गएर पढ्ने, विदेशमा घुम्न जाने कुनैपनि युवालाई सरकार र स्थानीय सरकारले रोक्न सक्दैन । केही हदसम्म न्यूनिकरण गर्न सक्ला । हरेक व्यक्तिको चाहना हुन्छ विदेश जाने व्यक्तिलाई रोक्न सक्दैन । उनीहरुलाई रोक्ने होइन की विदेश गएर आएकालाई फर्कने वातावरण कसरी बनाउने हो । नेपालमै सम्भावना छ । तिमीले सिकेको सिपहरु, तिमीले अध्ययन गरेको बौद्धिक ज्ञान छ ति कुराहरुलाई नेपालमा फर्केर सुरुवात गर । हामी नेपालमै कमाउन सक्छौं । तिम्रो सिप, तिम्रो बौद्धिक क्षमतालाई यदि नेपालमै प्रयोग गर्ने हो भने विदेशमा भन्दा बढी आफ्नै परिवारसँग यही बसेर, यही रमाएर काम गर्न सक्छौं र त्यसको रिर्टन पाउन सक्छौं भन्ने आवास हामीले दिलाउनुपर्छ । विदेशमा गएका व्यक्तिहरुको सोचमा हामीले परिवर्तन के गर्न जरुरी छ भने विदेशमा सधैभरी बस्ने होइन विदेशमा गएको १ नेपालीले २ विदेशीहरुलाई भित्र्याउन सक्यो भने नेपालको पर्यटन क्षेत्रमा ठूलो फड्को मार्न सकिन्छ । हरेक नेपालीले अब रोजगारी पाउन सक्छ । नेपाल सरकारले एक जना नेपाली विदेश गएको छभने त्यसले एक वर्षमा दुई जना विदेशीहरुलाई नेपालमा पर्यटन प्रबद्र्धन गर्न ल्याउने वातावरण कसरी हुन सक्छ भन्ने नीति बनाउनुपर्छ । एक नेपाली विदेशबाट आउँदा दुई विदेशीलाई नेपालमा ल्याएमा त्यसलाई इनिसेसन के दिन सक्छत सरकारले त्यो विषयमा सरकारले सोच्नु जरुरी छ । जस्तै एक जना नेपालीको सिफारिसमा दुई जना विदेशी नेपाल आउँदैछन् भने उनीहरु नेपाल बस्ने बेलासम्मको भिषा फिमा केही सहुलियत दिनुपर्छ । एक जना विदेशी एक महिना नेपाल बस्दा ५०० डलर शुल्क लिने गरेकोमा उसलाई १०० डलर शुल्क छुट दिएर उसलाई एक महिना बस्नेमा दुई महिना बस्ने वातावरण गराउन सकियो भने नेपालको पर्यटन प्रबद्र्धनको लागि धेरै ठूलो फाइदा हुन्छ । अहिले हामीले २० लाख पर्यटक नेपालमा भित्र्याउने भनिरहेका छौं । तर, त्यसको ठाउँमा विदेशबाट घर आएका नेपालीहरुलाई एक दिनको ठाउँमा दुई दिन बास बस्ने, दुई दिनको ठाउँमा चार दिन बास बस्ने वातावरण बनाइयो भने आज २० लाख नेपाली नेपाल आएकोमा एक दिन बढाइयो भने २० को ठाउँमा ४० लाख पु¥याउन सकिन्छ । त्यसको लागि विदेशमा जतिपनि गइरहेका युवाहरु छन् उनीहरुलाई प्रबद्र्धन गर्नको लागि हरेक हाम्रो दुतावास मार्फत, एनआरएन मार्फत, निजी क्षेत्र र सरकार मार्फत हुन सक्छ त्यो किसिमको वातावरण सिर्जना गर्नुपर्छ । जसरी अहिले भारतमा भारतका प्रधानमन्त्री मोदीले आफ्नै देशमा फर्किने अभियान थालनी गरेर विगतका वर्षमा विश्वभर भएका भारतीयहरुलाई आफ्नै देश फर्काउने, रोजगारको अवसर दिने, उनीहरुबाट ज्ञान र सिपहरु लिने भनेर जुन उत्साहप्रदक रुपमा कार्यक्रमको आयोजना गर्यो त्यस्तो कार्यक्रम गर्नुपर्यो । भारतमा जस्तै जनतालाई जागरण गराउने कार्यक्रमहरु हामीले सोच्नुपर्छ ।

११) बागलुङ नगरको आन्तरिक आम्दानीको अवस्था कस्तो छ र अझै बढाउने उपाय के छन् ?
बागलुङ नगरपालिकाको आन्तरिक राजश्व संकलनको अवस्था सन्तोषजनक छ । नगरपालिका भित्र राजश्व संकलनको लागि अझै सम्भावना छन् र यसका क्षेत्रहरु विस्तार गर्न सकिन्छ । सवैभन्दा महत्वपूर्ण र सवैभन्दा ठूलो रकम कालिगण्डकी नदीको लहत्तरबहत्तर छ त्यो हामीले निकाल्न नपाउँदा प्रत्येक वर्ष झन्डै २ करोड भन्दा बढी आन्तरिक राजश्वमा कमी भएको हामीले महशुष गरेका छौं । त्यो निकाल्न नपाउँदा हाम्रा नागरिकहरुले कुनै पनि पूर्वाधार बनाउने क्रममा महंगिमा पर्नुपरेको, चोरी निकासीको कामहरु व्यापकरुपमा बृद्धि भइरहेको र त्यसलाई न्यूनिकरण गर्न समस्या भइराखेको छ । चोरी निकासीको कारणले कालिगण्डकीको धार परिर्वतन गर्दा विभिन्न ठाउँमा दुर्घटना भइराखेको परिस्थिति छन् । त्यसले गर्दा पहिले राज्यले लहत्तरबहत्तरको कुरालाई सम्बोधन गर्नुपर्छ, सम्मानित सर्वोच्च अदालतले छिटो निकास दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । अन्य कुरामा हामीले बागलुङ नगरपालिकाको जुन किसिमको आन्तरिक श्रोत छ त्यसलाई एकदम प्रभावकारी गराइएको छ । १४ वटा वडामा अनलाईन सिस्टमबाट सेवाहरु विस्तार गरेका छौं । आगामी दिनहरुमा आन्तरिक श्रोतलाई बृद्धि गर्दै जाने र यसको दायरालाई बृद्धि गर्दै जाने सोच गराएका छौं । राजश्वको दरलाई कम गर्दै जाने सोच छ । नगरपालिकाले अहिलेसम्म सवै जरिवानाहरुलाई छुट गरिरहेको परिस्थिति छ अबदेखि छुट नगरिकन अलिकति कडाईका साथ राजश्व संकलनको विषयमा प्रभावकारी रुपमा घरदैलोमा गएर राजश्व संकलन गर्ने र आन्तरिक राजश्व बृद्धि गर्ने तयारीमा छौं ।

१२) स्थानीय तहमा काम गर्दा मुख्य समस्या के–के आइपरेका छन् ?
– बागलुङ नगरपालिकामा काम गर्ने क्रममा मुख्य चुनौतिकको रुपमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कानुन जुनछन् ति बाँझिएका छन् । कानुन बाँझिएको कारणले पनि हामीले लक्ष्य अनुसारको काम गर्न नसकेको परिस्थिति एकातिर छ । कतिपय कुराहरुमा कानुन नै नबनेका छन् । राज्यका ४० वटा कानुनहरु अझै बन्न बाँकी छ । त्यसले गर्दा पनि समस्या छ । अझ पनि देश संघियतामा गएपनि संघियताको महशुष गर्न सकिरहेको परिस्थिति छैन । संघिय सरकार र प्रदेश सरकारले स्थानीय सरकारको अधिकार पूर्ण रुपमा दिइसकेको परिस्थिति छैन । त्यसले गर्दा पनि हामीलाई काम गर्न समस्या रहेको छ । आन्तरिक समस्याहरुमा नगरपालिकाको सुविधासम्पन्न भवन नहुनु जसले गर्दा हामीले राम्रोसँग काम नगर्न नसक्नु, बागलुङ नगरपालिका भूगोलमा ठूलो छ, बजार क्षेत्र र ग्रामिण क्षेत्रको भूगोलमा त्यही किसिमका विकासका योजनाहरु सँगसँगै लैजानुपर्ने चुनौति छन् ।

धेरै योजनाहरु संघिय सरकार र प्रदेश सरकारले समपुरक योजनाहरु दिने, विशेष र समानिकरणका बजेटहरु नदिने, सशर्त र समपुरक बजेट दिँदै गर्दा योजना कार्यान्वयन गर्न धेरै प्रभाव पारेको महशुस गरेको छु । राज्यले केन्द्रबाट हुने र प्रदेशबाट हुने समपुरकका बजेट, बहुबर्षिय योजनाहरु काटेर यदि स्थानीय सरकारलाई विशेष बजेट र समानिकरणका बजेट व्यवस्थापन गर्ने होभने काम गर्न धेरै सजिलो हुनेछ । कतिपय योजनाहरु संघिय सरकार र प्रदेश सरकारले माथिबाटै तोकेर पठाईदिने । हाम्रो भुगोल अनुसार हाम्रो ठाउँ अनुसार जुन किसिमका आवश्यकताहरु छन्, विकासका मोडेलहरु, विकासका योजनाहरु कुन प्रभावकारी रुपमा अगाडी बढाउनुपर्छ त्यो संघिय सरकार र प्रदेश सरकारलाई थाहा हुँदैन । तर, प्रदेश सरकार र संघिय सरकारले कुनै व्यक्तिको इच्छामा योजनाहरु पठाउने काम गरिरहेको छ । त्यसले गर्दा हामीले कुन गतिमा अगाडी बढाउने, बागलुङको पूर्ण रुपमा विकास गर्नको लागि के कुराकोपूर्वाधारको विकासको आवश्यकता छन् त्यो संघिय सरकारले महशुष नगर्ने त्यसले गर्दा विकास निर्माणको योजनामा प्रत्यक्ष रुपमा प्रभाव परेको छ । त्यही पनि हामीले आन्तरिक व्यवस्थापनबाट होस् वा कुनै प्रोजेक्ट मार्फत योजनाहरु अगाडी बढाएको अवस्था छ ।

१३) तपाईको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ? पालिकाका भावि योजना के के छन् ?
– मेरो कार्यकाल सकिने बेला अबको २० वर्षपछि बागलुङ नगरपालिका कस्तो हुन्छ भन्ने रुपरेखा देखिन्छ । मैले निर्वाचन आउनुभन्दा पहिले र निर्वाचन जित्दा वित्तिकै पनि भनेको थिए बागलुङ नगरपालिकामा हामीले दीर्घकालिन सोचका साथ अबको २० वर्ष, २५ वर्ष, ५० वर्षसम्म दीर्घकालिन रुपमा बागलुङ नगरपालिका कस्तो हुन्छ त भन्ने कुरामा हामीले कतिपय संरचना पुरा हुनेछन् र कतिपय संरचनाको जग बसालदिनेछौं ताकी यो ठाउँमा यो किसिमको पूर्वाधारहरु बन्छ । हाम्रो नागरिकहरुको जीवन यो स्तरमा उठेको हुन्छ भन्ने देखिन्छ । त्यो जगमा टेकेर भोलीका नेतृत्व तहले विकास निर्माणलाई अगाडी बढाउन सक्छन् । हामीले शुभारम्भ गरेका प्रत्येक वडामा एक पूर्वाधार हुनुपर्छ, प्रत्येक वडामा जाँदा हरेक नागरिक एक रात बास बस्नुपर्छ, प्रत्येक नागरिक आत्मनिर्भर हुनुपर्छ, बागलुङ बजारका सडकपेटीलाई चौडा गर्दै फुटपाथसहितको परिकल्पना गरिएको छ यो हाम्रो लक्ष्य हो । बजारमा जबसम्म फुटपाथ हुँदैन तबसम्म मान्छेहरु जतिसुकै जेब्राक्रसिङ्ग गरेता पनि काम हुँदैन । बागलुङका नागरिक सडकमा हिडछन् भनिन्छ बागलुङमा फुटपाथ छैन कहाँ हिडुन् ? त्यसैले हामीले फुटपाथ सहितको सडकको परिकल्पना गरेका छौं ।

जस्तो बागलुङ बजार छ त्यसलाई हामीले अर्को स्मार्टसिटी भनेर परिकल्पना गर्न सक्दैनौं । बागलुङ बजार जस्तो यही रुपमा विकास गर्ने हो । यसको सडक व्यवस्थापन, ढलको व्यवस्थापन, भलको व्यवस्थापन, चारै तिर पलाष्टर गरेर रंगरोगन, पुराना बजारमा ढुङ्गा छपाउने, सय वर्ष पुरा गरेका र पुरानो मौलिकताका भवनहरुलाई संरक्षण गर्ने, हाम्रो संस्कृतिको जर्गेना गर्ने गर्दै जाँदा पर्यटनका पूर्वाधारहरुको बृद्धि हुन्छ । पर्यटन प्रबद्र्धनलाई अगाडी बढाउँदै बागलुङ नगरपालिकाका १४ वटा वडामै पर्यटकलाई एक रात बास बसाल्न सकेमा पर्यटनबाट ठूलो फड्को मार्न सकिन्छ । मध्यपहाडी लोकमार्ग, कालिगण्डकी कोरिडोर, सालझण्डी सडक, कोरला नाकासँगको परिकल्पना, मुस्ताङसँगको रिटर्न फाइदा के लिन सकिन्छ, कालिगण्डकीबाट पूर्वाधारको विकास गरेर फाइदा लिन सकिन्छ । हामीले कालिका भगवती मन्दिरमा पहिले र अहिले धेरै परिवर्तन भएको छ त्यस्तै गरे केही वर्षमा पञ्चकोट, शालिग्राम सङग्राहलय, तित्याङमा निर्माण गर्न लागिएको ब्लु हिलको विकास हुन सक्छ, भकुण्डे आफैमा सुविधा सम्पन्न छ त्यहाँ पुग्ने सडक राम्रो बनेमा हजारौं पर्यटक पुग्न सक्छन् । भकुण्डेका होमस्टेमा हजारौं पर्यटकहरु बास बस्दा होमस्टे र होटलका संख्याहरु बढ्न सक्छन् । त्यसले गर्दा त्यहाँका नागरिकको दैनिकी फेरिन सक्छ । हामीले आवाधिक योजना बनाएका छौं । हामीले सम्भावना बोकेका स्थानहरुमा जग बनाइदिन्छौं । खानेपानीमा शुद्ध पिउने पानी पु¥याउने लक्ष्य रहेको छ । हामी आएपछि नयाँ सडक खन्न रोक लगाएपछि पहिरोको जोखिम बन्द भएको । हामीले बजारका घरको चारै तिर पलाष्टर गर्नुपर्ने नियम गराएपछि पहिले इट्टैइट्टा देखिने बजार अहिले रंगिन बन्दै गएको छ । अबको तिन वर्षभित्रमा बजारका सवै घरहरुको चारै तिर पलाष्टर र रंग लगाएपछि अझै सुन्दर देखिनेछ । यस्ता कुराहरु नागरिकले थाहा नपाउने र अनुभुति नगरेको देखिन्छ ।

हामीले बजारको सुन्दरताको लागि घरको नक्सा पासमा सजकता अपनाउँदै सवैघरको एकरुपता ल्याउन पहल थालनी गरेका छौं । हामीले परिकल्पना गरेको र संघिय सरकार र प्रदेश सरकारले दिने बजेटको विनियोजनमा धेरै फरक छ । स्थानीय सरकार एकातिरबाट हिडिरहेको हुन्छ । संघिय सरकार र प्रदेश सरकारले अर्को तिरबाट जोत्ने यो किसिमको सिष्टम संघियतामा अझै मेल खाएको छैन । हामीले प्राथमिकता दिएर बजेट माग गरेको संघिय सरकारले दिएको छैन । किनभने संघिय सरकारले आफ्नो तहले बजेट दिएको छ । पहुँचको आधारमा विकासको योजना संघ र प्रदेशले विनियोजित गर्दै आएका छन् । तिन तहकै सरकारको बजेटमा एकरुपता ल्याउन जरुरी छ । एकरुपता ल्याउन सकेमा विकास बढि हुन्छ । अहिले १ करोडले गर्ने विकास र ३ करोडले गर्ने विकास एउटै भएको छ । त्यसैले सरकारले एकरुपता ल्याउन जरुरी छ ।

१४) अन्तमा बागलुङ नगरबासीलाई के भन्न चाहनुहुन्छ ?
अन्तमा मैले केभन्न चाहन्छु भने, हामी १५ औं नगरसभामा केन्द्रित रहेका छौं । अब आउने बजेट रयोजनाहरुमा प्रभावकारी योजना कसरी बनाउन सकिन्छ भनेर लागिरहेका छौं । हरेक क्षेत्रबाट सुझाव संकलन गरिरहेका छौं । अझ पनि समय छ आम बागलुङ नगरबासी र नगरप्रति शुभचिन्तक महानुभावहरुलाई बागलुङ नगरपालिकाको समग्र विकासको लागि नीति तथा कार्यक्रम बनाउने क्रममा नविनतम सोचहरु के के हुन सक्छन् ? बागलुङलाई हामीले देखेका कुराहरु के छन् ? सम्भावना के छन् ? हामीले नदेखेका सम्भावना आम नागरिकले देखेको हुन सक्छन् । त्यसैले यहाँहरुको महत्वपूर्ण सुझावको लागि यस पत्रिका मार्फत अनुरोध गर्न चाहन्छु । हामी बजेट गराउने क्रममा रहेका छौं । हामीले गराएको बजेटमा सहकार्य महत्वपूर्ण रहेकोले सहकार्य र समउपस्थितिको लागि अनुरोध गर्न चाहन्छु । विकासको लागि सहकार्य र हातेमालो गर्दै अगाडी बढ्न जरुरी छ । बागलुङ नगरपालिका मेरो हो भन्ने सोच हरेक नागरिकले राख्नु जरुरी छ । को नगरप्रमुख भयो ? कसले नेतृत्व गरेको छ ? भन्ने महत्वपूर्ण कुरा होइन । हरेक नागरिक नगरप्रमुख हो । त्यसले गर्दा यो मेरो बागलुङ हो । म मेरो बागलुङलाई गराउछु भन्ने सोचमा हरेक नागरिक जबसम्म उत्साहित हुँदैनन् त्यो ठाउँको विकास हुन सक्दैन । त्यसले विकासलाई अगाडी बढाउन यहाँहरुको महत्वपूर्ण सुझाव र गरिमामय उपस्थितिको लागि अनुरोध गर्न चाहन्छु ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here