डेंगु रोग नियन्त्रण गर्ने सरोकारवालाको प्रतिबद्धता

बागलुङ, २७ जेठ । बागलुङमा डेंगु रोग नियन्त्रण गर्ने सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् ।

डेंगु लगायत किटजन्य रोगहरु नियन्त्रणका लागि शनिबार बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले डेंगु नियन्त्रणको लागि सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा बागलुङ नगरपालिका १, २, ३ र ४ का जनप्रतिनिधि, कर्मचारी, संघसंस्थाका प्रतिनिधि र ग्यारेजका संचालकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण गर्दै बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तथा जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले नेपालमा पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्दै गएको बताउनुभयो । उहाँले नेपालमा सन् २०१० मा पहिलो पटक डेंगुको संक्रमण देखा परेको बताउँदै हाल देशका धेरै जिल्लामा विरामीहरु फेला परेको बताउनुभयो ।

शाखा प्रमुख खनालले विश्वमा डुंगुको संक्रमण ५० वर्षमा ३० गुणाले बढेको बताउनुभयो । उहाँले डेंगुबाट प्रत्येक वर्ष विश्वभर करिव ५ करोड बढी मानिस बिरामी पर्ने गरेको र १० देखि २० हजार बढीको मृत्यु हुने गरेको रिपोर्ट रहेको जानकारी दिनुभयो । शाखा प्रमुख खनालका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा बागलुङमा ४०१ जनामा संक्रमण देखा परेको र १ जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा अहिले चार जना डेंगुका विरामीहरु उपचाररत रहेको शाखा प्रमुख खनालले बताउनुभयो ।

एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ । यो प्रजातिको लामखुट्टेको लार्भा लामो समयसम्म पानी जमिरहने ठाउँमा हुर्कने गरेकाले त्यस्तो ठाउँमा हरेक हप्ता सरसफाइ गर्नुपर्ने शाखाका प्रमुख खनालले बताउनुभयो । उहाँले घर वरपर रहेको टिनको बट्टा, प्लास्टिक, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेकाले यस्तो ठाउँमा जमेको पानी फाल्न आवश्यक रहेको बताउनुभयो ।

प्रमुख खनालले बागलुङ नगरपालिकाको बजार क्षेत्रमा रहेका ग्यारेज वरपर धेरै डेंगुका विरामीहरु देखा परेकोले बताउनुभयो । उहाँले ग्यारेजमा हुने सवारी साधनका टायरहरु, गमलाहरुमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेको कारण डेंगुको विरामीहरु फेला परेको बताउँदै ग्यारेज संचालकहरुलाई जमेको पानी फाल्न अनुरोध गर्नुभयो । ‘बागलुङ बजार भित्र रहेका ग्यारेजहरु वरपर बसोबास गर्नेहरुमा डेंगुको संक्रमण धेरै देखिएको छ,’ शाखा प्रमुख खनालले भन्नुभयो,‘डेंगु नियन्त्रणको लागि ग्यारेजमा रहेका सवारी साधनका टायरहरुलाई पानी नपर्ने स्थानमा राख्नुपर्छ र टायरमा पानी जमेको भेटिएमा पानी फाल्नुपर्छ ।’ डेंगु रोग रोकथाममा सहयोग गर्न ग्यारेज (वर्कसप) व्यवसायीहरुलाई खनालले आग्रह गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित वर्कसप व्यवसायीहरुले डेंगु रोग रोकथामको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले वर्कसपमा रहेका टायरहरुमा पानी जमेको भेटिएमा पानी फाल्ने र पानी नपर्ने स्थानमा टायरहरु राख्ने प्रतिबद्धता व्यक्त गरे ।

डेंगी भाइरसको संक्रमण भएको तीन दिनदेखि चौध दिनपछि पछि यसको लक्षण देखिन्छ । डेंगु लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने मांसपेशी तथा जोर्नीहरुमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने शाखा प्रमुख खनालले जानकारी दिनुभयो । डेंगु रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्ने उहाँको भनाई छ । केही बिरामीहरुमा यो रोग डेंगी हेमोरेजिक फिवर विकसित भएर रक्तश्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ । यो अवस्थामा रक्तश्राव मात्र हुने नभई रगतमा प्लेटलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्दछ । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख खनालले कालाजार, स्कवटाइफस, औलो रोगको बारेमा सहजिकरण गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमको संचालन बागलुङ नगरपालिका स्वास्थ्य शाखाका सि.अ.हे.व. डिल्लीप्रसाद आचार्यले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here