काठमाडौँ, १० वैशाख । नेपालमा मुख्य बाली बर्खे धान, गहुँ, मकै र कोदाको मूल्य प्रदेश अनुसार फरक फरक देखिएको छ । सरकारले विभिन्न बालीको देशभरका लागि न्यूनतम समर्थन मूल्य तोके पनि प्रदेश अनुसार किसानले फरक फरक मूल्य प्राप्त गरेको एक तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले पालिकाको वडा तहसम्म गरेको तथ्याङ्क सङ्कलन अनुसार गण्डकी प्रदेशका किसानले सबैभन्दा बढी मूल्य पाएका छन् । धान, गहुँ, मकै, कोदोको मूल्यमा सबैभन्दा अगाडि गण्डकी प्रदेश रहेको तथ्याङ्कले देखाएको छ ।
नेपालमा बर्खे धानको प्रतिक्विन्टल औसत मूल्य तीन हजार १११ रहेको छ । त्यसमा सबैभन्दा बढी मूल्य तीन हजार ८६५ रुपियाँ प्रतिक्विन्टल गण्डकी प्रदेशमा र सबैभन्दा कम दुई हजार पाँच सय मधेश प्रदेशमा रहेको कृषि गणनाको प्रतिवेदनमा उल्लेख छ । जब कि मधेश प्रदेशको उत्पादकत्व सबैभन्दा बढी ३७.३ क्विन्टल प्रतिहेक्टर रहेको देखिन्छ ।
बागमती प्रदेशमा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ५०५ रुपियाँ, कर्णाली प्रदेशमा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३१८, कोशी प्रदेशको तीन हजार २९१, लुम्बिनीको दुई हजार ८९५ र सुदूरपश्चिम प्रदेशको दुई हजार ८११ रुपियाँ प्रतिक्विन्टल रहेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणना गरिएको वडाबाट प्राप्त नतिजा अनुसार नेपालमा बर्खे मकैको प्रतिक्विन्टल औसत मूल्य दुई हजार ३६५ रहेको छ, त्यसमध्ये तुलना गर्दा बर्खे मकैको सबैभन्दा बढी मूल्य दुई हजार ४४३ रुपियाँ गण्डकी प्रदेशमा र सबैभन्दा कम मूल्य दुई हजार २४६ सुदूरपश्चिम प्रदेशमा रहेको छ । गहुँको सन्दर्भमा नेपालमा यसको प्रतिक्विन्टल औसत मूल्य तीन हजार ८९६ रहेको छ । प्रदेश तहमा गहुँको सबैभन्दा बढी मूल्य चार हजार ९५५ गण्डकी प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रहेको प्रतिवेदनमा उल्लेख छ । जब कि मधेश प्रदेशको उत्पादकत्व सबैभन्दा बढी २८.७ क्विन्टल प्रतिहेक्टर रहेको छ भने सबैभन्दा कम कोशी प्रदेशको २४.७ क्विन्टल प्रतिहेक्टर रहेको छ । वडा तहबाट सङ्कलन गरिएको तथ्याङ्क अनुसार नेपालमा कोदोको प्रतिक्विन्टल औसत मूल्य चार हजार ३०३ रुपियाँ रहेको छ ।
कोदोमा पनि गण्डकी प्रदेशले नै सबैभन्दा बढी मूल्य प्राप्त गरेको छ । तथ्याङ्क कार्यालयका प्रतिवेदन अनुसार गण्डकी प्रदेशमा कादोको मूल्य प्रतिक्विन्टल चार हजार ७५३ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम तीन हजार ४२० रुपियाँ रहेको छ ।
कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले मुख्य दुई कारणले गण्डकी प्रदेशमा मुख्य खाद्यान्नको मूल्य बढी रहेको आफूलाई लागेको बताए । उनले भने, “गण्डकी प्रदेश टुरिजमको क्षेत्र हो, त्यहाँ गरिब कम छन् त्यही भएर त्यहाँका किसानले बढी मूल्य पाएका हुन् जस्तो लाग्छ ।”
उत्पादन कम हुन्छ र पर्यटकीय क्षेत्र बढी भएका कारण महँगोमा भए पनि खरिद गरेर खाने गरेको देखिएको बताउँदै उहाँले मनाङ, मुस्ताङ, पोखरा, गोरखा जस्ता पर्यटकीय स्थल भएका ठाउँ त्यही प्रदेशमा रहेको बताउनुभयो ।
गण्डकी प्रदेशको कृषिसचिवसमेत रहिसकेका महानिर्देशक केसीले मनाङ, मुस्ताङतिर धान, गहुँ, मकै, कोदो देशको अन्य भागभन्दा औसतमा त्यहाँ महँगो हुन्छ नै त्यही भएर तथ्याङ्कमा पनि त्यही देखिएको उहाँले बताउनुभयो ।